हवाई दुर्घटनाका सम्बन्धमा छलफल माग गर्दै संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

नेपालमा बारम्बार भइरहेको हवाई दुर्घटनाका सम्बन्धमा छलफल माग गर्दै रास्वपाका सांसदले संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले हवाई दुर्घटनाका सम्बन्धमा संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। नेपालमा बारम्बार भइरहेको हवाई दुर्घटनाका सम्बन्धमा छलफल गर्न माग गर्दै रास्वपा सांसद सोबिता गौतमले मंगलबार जुरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएकी हुन्।

प्रस्तावमा सांसदहरू डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनीषा झा, निशा डाँगी, शिव नेपाल, अशोककुमार चौधरी, सुमना श्रेष्ठ, चन्दा कार्की भण्डारी, गणेश पराजुली, विन्दबासिनी कंसकार, विनीता कठायतले समर्थन जनाएका छन्।

हवाई दुर्घटना दोहोरिइरहने तर नियामक निकाय र हवाई सेवा प्रदायकलाई जिम्मेवार बनाउन नसकिएको अवस्थालाई परिवर्तन गरी यी निकायका सम्बन्धित अधिकारीलाई जिम्मेवार बनाउन तथा हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन निरन्तर नहुने अवस्थाको अन्त्य गर्न छलफल आवश्यक भएको उनले प्रस्तावमा उल्लेख गरेकी छन्।

त्यस्तै, नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायको रूपमा विभाजन गरी नागरिक उड्डयन क्षेत्रको नियमन कार्यलाई प्रभावकारी बनाउन र सेवा प्रदायकहरूको सेवालाई समेत व्यवस्थित गर्ने सरकारको नीति तथा कार्यक्रम एवं अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सिफारिस किन लागू नभएको हो भन्ने बारे पनि छलफल आवश्यक रहेको उनले औँल्याएकी छन्।

त्यस्तै,  हवाई यात्रा सुरक्षित बनाई उड्डयन सुरक्षाबारे सर्वसाधारणमा परेको नकारात्मक प्रभाव अन्त्य गर्न नागरिक उड्डयन प्राधिकरणको नियामकीय भूमिका किन फितलो भएको हो तथा हवाई दुर्घटनाले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर पार्ने हुँदा सुधारात्मक कदम चालेर नेपालको हवाई क्षेत्रको विश्वसनीयता बढाउनका लागि छलफल आवश्यक भएको उनले प्रस्तावमा उल्लेख गरेकी छन्।