पोखराबाट काठमाडौँका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।

धादिङ– पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।

ठूलो पानी परेको र बादलले गर्दा मौसम प्रतिकूल भएका कारण धादिङको थाँक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो। 

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौँ आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेजको ९ एन–ए.एम.एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाँक्रे गाउँपालिका–७ का वडा अध्यक्ष युवराज खतिवडाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले मौसम प्रतिकूल भएका कारण काठमाडौँतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए।