खाँदबारीका ८ घर पहिराको उच्च जोखिममा

गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले खाँदबारी नगरपालिका–५ रमितेका आठ घर जोखिममा परेका हुन्।

फाइल तस्वीर।

खाँदबारी– संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन्। 

गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमितेका आठ घर जोखिममा परेका हुन्। पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुंगा रहेकाले पहिरासँगै ढुंगा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताए। पहिरोका कारण दिनरात त्रास बढेको गुनासो गर्दै उनले स्थानीय सरकारले ढुंगा हटाउन सहयोग गर्नुपर्ने बताए।  

कोशी राजमार्गको मोटरबाटो गगनेदेखि रमितेगाउँ हुँदै लगिएको छ। देउरालीबाट सडक गाउँसम्म पुर्‍याइएको छ। गाउँमाथिबाट ट्रयाक खोलिएको र प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएकाले माटो धस्सिएर पहिरो बगिरहेको रमितेका स्थानीयले बताएका छन्।

खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्यले विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुंगा फुटाउने आश्वासन दिएका छन्। गत वर्ष पनि नगरपालिकाको आर्थिक सहयोगमा रोकथाम गर्ने प्रयासस्वरूप तारजाली लगाइएको थियो।