प्राविधिक ज्ञान बिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्रबाट राहतभन्दा बढी नोक्सानी भएको किसानले बताएका छन्।
गलकोट– सुन्तला र आलुको मूल्य दोब्बर बनाउने उद्देश्यले स्थापना गरिएका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानले गुनासो गरेका छन्।
तीन वर्षअघि २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए। बागलुङ नगरपालिका–८ सिगाना र काठेखोला गाउँपालिका–६ बिहुँमा सुन्तलाका लागि र काठेखोला गाउँपालिका–३ धम्जामा आलु भण्डारणका लागि निर्माण गरिएका चिस्यान केन्द्र बन्द हुने अवस्थामा पुगेका छन्।
प्राविधिक ज्ञान बिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्रबाट राहतभन्दा बढी नोक्सानी भएको सुन्तला किसान रामबहादुर खड्काले बताए। सुन्तला र आलुलाई चिस्यान केन्द्रमा राखेर महंगो मूल्यमा बजार पठाउने तयारी गरेका किसानलाई अहिले तीन चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ।
तीन वर्षअघि गण्डकी प्रदेशको २१ लाख र गणेश व्यावसायिक कृषि सहकारी संस्थाको १० लाख लागत गरी ३१ लाखमा बागलुङ–८ सिगानामा निर्माण गरिएका चिस्यान केन्द्र सञ्चालनमा आउन सकेका छैनन्।
सुन्तलालाई बेमौसममा महंगो मूल्यमा बजार पठाउने उद्देश्यले निर्माण गरिएको थियो। सहकारीमा आबद्ध किसानले हालसम्म दुई लाख विद्युत् महसुल मात्रै तिरेका गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहेका किसान खड्काले बताए। पहिलो वर्ष राखिएका सुन्तलामा एक महिनामा ढुसी पलाएपछि राख्न छोडेको उनले उल्लेख गरे।
चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा पनि मासिक तीन हजार विद्युत् महसुल तिनुपर्ने अवस्था रहेको बताउँदै खड्काले महसुल तिर्न नसकेपछि किसानले विद्युत् कटौती गर्न बाध्य भएको जानकारी दिए।
“किसानलाई प्राविधिक ज्ञान भएन। अहिले लगानी खेर जाने अवस्था आएको छ,” अध्यक्ष खड्काले भने, “किसानलाई नाफा होला भनेर स्थापना गरेको केन्द्रबाट नोक्सानी मात्र भयो। अहिले किसानले सुन्तला राख्नै मान्दैनन्, हामीलाई प्राविधिक रूपमा तापक्रम मिलाउन सिकाइएको छैन। यसरी बिना योजना र ज्ञान चिस्यान केन्द्र राख्ने काम सरकारले बन्द गर्नुपर्छ।”
चिस्यान केन्द्रमा तीन महिना सुन्तला राखेर बजारमा पठाउँदा फाइदा हुने भन्दै केन्द्रमा लगानी गरेका किसान अहिले निराश बनेको बताए। ३० टन क्षमताको केन्द्रमा राखिएका सुन्तलामा ढुसी पलाएको भन्दै किसानलाई नोक्सानी हुने देखिएपछि दुई वर्षयता केन्द्र सञ्चालन नगरिएको अध्यक्ष खड्काले बताए।
यस्तै, काठेखोला गाउँपालिका–६ बिहुँमा निर्माण गरिएको ३० टन क्षमताको सुन्तला चिस्यान केन्द्र अहिले बन्द छ। पहिलो वर्ष सुन्तला राखे पनि राखिएका सुन्तलामा ढुसी देखिएको र विद्युत महसुल तिर्न नसक्दा गत वर्षदेखि केन्द्रमा किसानले सुन्तला नराखेका बिहुँकोट साना किसान सहकारीका अध्यक्ष भुवानीशङ्कर कँडेलले जानकारी दिए। चिस्यान केन्द्र निर्माणमा सात लाखको जग्गा खरिद गरी तारबार गरेको बताउँदै ५० लाखबढी लगानी डुब्ने अवस्थामा पुगेको जानकारी दिए।
“पहिलो वर्ष सुन्तला राखियो, विद्युत्को महसुल मात्रै ३० हजारभन्दा बढी उठ्यो, सुन्तलामा ढुसी लाग्न थालेपछि राख्न छोडेका छौँ। अहिले सहकारीले मासिक तीन हजार विद्युत् महसुल तिर्दै आएको छ,” कँडेलले भने, “किसानले जोखिम लिन नसक्ने भएपछि सुन्तला राख्नै मुस्किल भयो, अहिले यहाँका स्थानीयलाई विद्युत्को रकम तिर्नेगरी जिम्मा दिन थालिएको छ, यसरी योजनाबिना सञ्चालित केन्द्रले किसानलाई ऋणमा डुबाउने काम भएको छ।”
अध्यक्ष कँडेलले नाफाभन्दा किसानलाई नोक्सान दिने चिस्यान केन्द्र आवश्यक नभएको बताउँदै राज्यको साथै किसानको लगानी र मेहनत खेर गएको उल्लेख गरे। चिस्यान केन्द्र बागलुङमा मात्रै नभई अन्य स्थानमा पनि सफल नभएको अध्ययन/अवलोकनका क्रममा पाएको उनले बताए।
काठेखोला गाउँपालिका–३ धम्जामा गण्डकी प्रदेश सरकाले तीन वर्षअघि स्थापना गरेको आलु चिस्यान केन्द्रले आलुको बीउलाई सहज भए पनि विद्युत्को महसुल तिर्न किसानलाई सास्ती भइरहेको स्थानीय गोपाल श्रीसले बताए।
आलु राख्दा मासिक ४० हजारसम्म विद्युत्को रकम तिर्नुपर्ने भन्दै किसानले केन्द्रमा आलु भण्डारण गरी राख्दा नोक्सानी भएको काठेखोला–३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले बताए। पछिल्लो समय किसाने चिस्यान केन्द्रमा आलुको बीउ मात्रै भण्डारण गर्न थालेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
