युद्धविराम वार्तामा सहभागी हुन सुडानको सेनामाथि अमेरिकी दबाब

सन् २०२३ अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहान नेतृत्वको सेना र उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच युद्ध चलिरहेको छ।

तस्वीर: एएफपी।

अमेरिकाले सुडानको सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह गरेको छ। 

स्विट्जरल्यान्डमा शुरू भएको वार्तामा सुडानमा द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) समूह भने सहभागी भएको छ।

सन् २०२३ अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहान नेतृत्वको सेना र उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच युद्ध चलिरहेको छ।

वार्तामा उपस्थित नभएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टेलिफोनमार्फत बुरहानलाई वार्तामा सहभागी हुन आग्रह गरेका हुन्। 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलका अनुसार ब्लिन्केनले बुरहानसँगको कुराकानीमा सहभागिताको आवश्यकता दोहोर्‍याएका थिए।  दुवै पक्षले तत्काल युद्ध अन्त्य गर्न र पीडित लाखौँ सुडानीका लागि मानवीय पहुँचको प्रत्याभूति गर्न आवश्यकता रहेको ब्लिन्केनको भनाइ थियो। 

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोका अनुसार बन्दुक बन्द गर्ने उपयुक्त समय आएको छ। १० दिनसम्म चल्ने उक्त वार्ता स्विट्जरल्यान्डको अज्ञात स्थानमा भइरहेको छ। आरएसएफ प्रतिनिधिमण्डलले वार्तामा भाग लिइरहेका बेला सुडानी सेना भने वासिंटनले व्यवस्था गरेको युद्धविराम ढाँचाप्रति असन्तुष्ट छ।

सुडानी सञ्चार मन्त्री ग्राहम अब्देलकादरले वार्ताअघि वासिंटनले यूएईलाई पर्यवेक्षकका रूपमा सहभागी गराउन जोड दिएपछि सहभागीता अस्वीकार गर्ने बताएका थिए। यूएईले आरएसएफलाई समर्थन गरेको सुडानी सेनाले आरोप लगाउँदै आएको छ।