पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका स्थानीय पनि प्रभावित भएको टेम्केमैयुङ–९ पाँचधारेका स्थानीय मानबहादुर सुनारले बताए।

भोजपुर– भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ। टेम्केमैयुङ–९ स्थित रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा यातायात ठप्प भएको हो। 

पहिरोले यातायात ठप्प हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ। यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ। सडक माथिबाट ठूलो पहिरो झरेपछि पैदल यात्रा गर्नसमेत जोखिम रहेको स्थानीयवासी एकराज विष्टले बताए। “पहिरोले सडक बगाउँदा आवतजावतमा समस्या छ,” उनले भने, “निरन्तर पहिरो झरिरहेकोले पैदल हिड्नसमेत समस्या छ। सडक सञ्चालनमा ल्याउन राज्यले ध्यान दिन आवश्यक छ।”

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका स्थानीयलाई पनि समस्या रहेको टेम्केमैयुङ–९ पाँचधारेका स्थानीय मानबहादुर सुनारले बताए। “माथिल्लो भेगमा पहिरो झरेर बाढी आउँदा मुनीतिर रहेका अन्य सडक पनि अवरोध बन्ने गरेका छन्,” उनले भने । 

राउते खोलाको शिर घुर्विसे क्षेत्रमा पहिरो जाँदा तल्लो क्षेत्रका बस्तीसमेत जोखिम रहेको वडाध्यक्ष नभराज माङ्पाहाङले बताए। राउते, लेर्खक काभ्रेलगायत गाउँका करिब २० घर परिवार जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङको भनाइ छ। माथिबाट आएको पहिरोले बर्सेनि तल्लो क्षेत्रमा रहेका सडक तथा अन्य संरचनामा क्षति पुग्ने गरेको उनको भनाइ छ। “पहिरोको कारण पाँचधारे–चखेवा सडक पनि अवरुद्ध बनेको छ,” उनले भने, “यो क्षेत्रमा बर्सेनि पहिरो जाँदा तल्लो क्षेत्रका बस्ती जोखिम गर्ने गरेका छन्। राउते खोलामा आउने बाढीको कारण तल्लो भेगमा ठूलो क्षति पुग्ने गरेको छ।” 

वर्षातका कारण राउते खोलाले बगाएको अर्को पाँचधारे–कोट– सदरमुकाम सडक भने श्रमदान गरेर तत्काललाई सञ्चालनमा ल्याइएको उनको भनाइ छ। यो सडक मर्मत गरे पनि बर्सात हुनासाथ खोलाले बगाउँदा समस्या हुने गरेको छ।