राष्ट्रियसभामा अब नियमित शून्य समय चलाइने

बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसदले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायतका समस्याबारे सरकारको ध्यानाकर्षण गराए।

काठमाडौँ– संघीय संसद्अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रूपमा शून्य समय राख्ने निर्णय गरेको छ।

बिहीबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको जानकारी गराएका हुन्। यसअघि राष्ट्रियसभामा सातामा तीन दिन शून्य समय चलाइने गरेको थियो।

बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायत समस्या सिर्जना भएको विषय उठाए।

राष्ट्रियसभा बिहीबारको बैठकमा सांसदहरू पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथिको विभेद अन्त्य हुन नसकेको बताए। सांसद रुक्मिणी कोइरालाले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्ध भत्तालाई उनीहरूको घरघरमा पुर्‍याउनुपर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने धारणा राखिन्।

सांसद रेणु चन्दले देशभरका विभिन्न स्थानमा बाढी र पहिरोका कारण तटबन्ध भत्किएको र विभिन्न स्थानका बस्तीहरू असुरक्षित भएको विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद विष्णुकुमारी सापकोटाले बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरूका परिवारलाई राहत र क्षतिपूर्ति दिइनुपर्ने, घाइतेको स्वास्थ्य उपचार र विस्थापितलाई पुनर्स्थापना गरिनुपर्ने बताए।

सांसद कृष्णप्रसाद अधिकारीले नुवाकोटको बञ्चरेडाँडास्थित ‘ल्यान्डफिल्ड साइट’ वरपरका बस्तीहरू विभिन्न रोगको जोखिममा रहेको विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए।