माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो। मौसमी परिवर्तनले कंक्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन्।
मनाङ– “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो। सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो। अहिले देख्न पनि मुस्किल हुन थाल्यो,” मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले विगत सम्झिँदै भने।
जंगलमा गएर सल्लाका रूख काटी फल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उनी बताउँछन्। “जस्ताको घर बनाए पनि पानी चुहिन्छ। घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो हुन्छ। पुराना माटो र सल्लाका काठले बनेको घर न्यानो अनि सुरक्षित थियो। अहिले त फेरिएको छ। यहाँको स्वरूप पनि फेरिन थालिसक्यो,” उनी भन्छन्। पहिले माटो र काठले बनेको घरहरू अहिले कंक्रिटको मात्र बन्न थालेका छन्।
पानी नै नपर्ने मनाङमा अहिले पानी पर्न थालेको छ। काठ र माटोले मात्र बनेको घरमा बस्न मिल्दैन। “पहिले तल्लो मनाङमा मात्रै पानी परेको थाहा पाइन्थ्यो। अहिले त माथिल्लो मनाङमा पनि पानी पर्छ,” उनले भने, “हामीले सानैदेखि यहाँ पानी परेको थाहा पाएका थिएनौँ। अहिले पानी पर्न थालेपछि पुराना घर मासिँदै गयो।”
करिब पाँच वर्ष अगाडिसम्म यहाँ माटो, काठले छाएका घर भेटिन्थे। तर अहिले पुराना घर मासिँदै गएको छ। स्थानीयका अनुसार यहाँका घर बनाउँदा घरको बिमलाई याकचौँरीको सिङले बाँधेर कडा बनाइन्थ्यो।
पुराना घर संरक्षण गर्नुपर्ने हो। तर जलवायु परिवर्तनसँगै यहाँ पानी पर्न थालेको अनुमान स्थानीय गर्छन्। पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङ भन्छन्, “पर्यटकीय हिसाबले यस क्षेत्रका पुराना घर संरक्षण गर्नु आवश्यक छ। तर, पहिले पानी नै नपर्ने स्थानमा पानी पर्न थालेपछि सुरक्षाका लागि पनि पुराना माटो र काठका घर मास्न बाध्य छौँ।” गतवर्ष वर्षाकै कारण माटो र काठको घर भत्किँदा मानवीय क्षति भएको उनले बताए।
पहिले एकै ठाउँमा झुप्पा परेका घर बनेका हुन्थे। तर बिस्तारै कंक्रिटका घर अग्ला र जस्तापाताले छाएर बनाउन थालिएका छन्। मनाङ ङिस्याङ गाउँपालिका–९ का निवर्तमान अध्यक्ष रिन्जेन दार्जे गुरुङ भन्छन्, “यहाँका झुप्प परेका घर पर्यटकको रोजाइ थियो। अहिले उत्तिकै आकर्षक मानिन्छन्। तर, मौसमी अनुकूलताले परिवेश फेरिँदै गएको छ। पुराना घर अस्तित्वको रूपमा रहेका मनाङका पहिचान गुमाउनुपर्ने अवस्थामा पुगेका छौँ।” पर्यटकले यहाँका घरका बिममा याकका सिङ बाँधेको हेर्ने गर्थे। अहिले बिस्तारै त्यस्ता घर पाइन छोडेको हो।
माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो। मौसमी परिवर्तनले कंक्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन्। गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजंग गुरुङ पर्यटकीय स्थान भएकाले पुराना संरचनाको संरक्षण हुने गरी घर निर्माणलाई जोड दिनुपर्ने बताउँछन्।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामा हालसम्म मोटर बाटो नपुगेका ठाउँमा जस्तापाताको प्रयोग गरेर घर बनाउन बाध्य भएको बताउँछन्। “माटो र काठको घरको छानामा हिउँ बस्थ्यो। हिउँ फालेर बस्ने गरिन्थ्यो। अहिले पानी पर्ने क्रम बढेसँगै नार गाउँमा जस्ता र सिमेन्ट प्रयोग बढेको छ,” उनले भने।
मनाङको मौलिकता संरक्षणका लागि प्राथमिकता दिन गाउँवासीलाई अनुरोध गरिएको उनी बताउँछन्। नार गाउँमा जस्तापाता र काठको घर निर्माण हराउन थाले पनि फु गाउँमा भने पुराना घरहरू छन्। तर, पानी पर्ने क्रम बढेसँगै जोखिम बढ्दो छ।
मनाङको घरबास सञ्चालन भएको क्षेत्र नासोँ गाउँपालिका–८ ताचै गाउँका पुराना घर मासिँदै गएका छन्। मनाङको प्रवेशद्वारमा बनेका घरको स्वरूप परिवर्तन हुँदै आएको छ। नासोँ–८ का निवर्तमान अध्यक्ष हुपजङ्ग गुरुङ भन्छन्, “सुरक्षित बसोबासका लागि पनि यहाँको घर बनाउँदा जस्ता प्रयोग गर्न बाध्य छन्। काठ र माटो प्रयोग घट्दै गएको छ। पर्यटकीय क्षेत्र भएकाले स्वरूप उस्तै देखिने गरी घर निर्माण गर्न अनुरोध गरिएको छ।”
जलवायु परिवर्तनले यहाँ अनावृष्टि र अतिवृष्टि हुने क्रम बढेको छ। यसले गर्दा यहाँ बाढी पहिरो, पानी पर्ने क्रम बढ्दो छ। यहाँका ताचै, तिल्चे, थोंचे, दानाक्यु, ओडार गाउँ, थानचोक, माथिल्लो मनाङ, पिसाङ, हुम्डे, नार, फु, मनाङ गाउँ, खाङ्सार लगायतका गाउँका मौलिकता आधुनिक घर निर्माणसँगै फेरिँदै गएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
