कुकुरले खेल्दाखेल्दै ब्याट्री चपाएपछि घरमा आगलागी

के तपाईंले घरमा कुकुर पाल्नुभएको छ? यदि छ भने कुकुरले दर्शाउने इमान्दारिता र प्रेमसँगै हैरानी पनि झेल्नुभएको होला।

के तपाईंले घरमा कुकुर पाल्नुभएको छ? यदि छ भने कुकुरले दर्शाउने इमान्दारिता र प्रेमसँगै हैरानी पनि पक्कै झेल्नुभएको होला।

कहिले चप्पल टोकेर बिगार्ने, कहिले कुनै सामान खसाइदिने सामान्य नै हो। परिवारको सदस्यझैँ हुर्काइएको कुकुरले गरेका यी गल्तीलाई सहजरूपमा लिने गरिन्छ। तर कहिलेकाहीँ उनीहरूलाई यसरी छुट दिँदा ठूलै दुर्घटना निम्तिने अवस्था पनि आउन सक्छ।

अमेरिकाको ओक्लाहोमा घरमा पालेको कुकुरको एक गल्तीले पूरै घर जलेको छ। घरमा लागेको आगो निभाउन अग्निनियन्त्रकहरू नै आउनुपरेको थियो। यो पूरै घटना घरमा जडान गरिएको क्यामेरामा कैद भएको छ।

भिडियोमा बैठक कक्षमा आफ्नो ओछ्यानमा बसेर कुकुरले लिथियम आयन ब्याट्री चपाइरहेको देखिन्छ। अर्कोतिर अर्को कुकुर र घरपालुवा बिरालो पनि देखिन्छ। केही समयपछि ब्याट्रीमा आगो बल्छ। आगलागीका कारण आगो तीव्र गतिमा फैलिन्छ। पहिले कुकुरको ओछ्यान जल्छ र नजिकैको सोफा पनि जल्छ। यस घटनाका कारण घरमा उपस्थित सबै जनावरहरू डरले भाग्न थाल्छन् र कुकुरहरू पनि आगोमा भुक्ने गरेको देखिन्छ।

यो घटना गत मेमा भएको हो। जसलाई तुलसा सिटी फायर डिपार्टमेन्टले ब्याट्रीका कारण हुने आगोको खतराबारे सचेत गराउन साझा गरेको थियो। आगलागीबाट घरमा धेरै क्षति भएको तर घरमा रहेका जनावरहरू भाग्ने बाटो भएकाले घरमा रहेको दुई वटा पाल्तु कुकुर र एउटा बिरालोलाई सकुशल बचाइएको दमकल विभागले जनाएको छ।

दमकल विभागका अधिकारी एन्डी लिटिलले मिडिया रिपोर्टलाई बताएअनुसार कुकुरले चपाएको ब्याट्री मोबाइल फोन चार्ज गर्न प्रयोग गरिएको थियो। लिथियम आयन ब्याट्रीले सानो ठाउँमा धेरै ऊर्जा भण्डारण गर्छ। तर जब त्यो ऊर्जा नियन्त्रण बाहिर जान्छ, यो धेरै तात्छ र ज्वलनशील ग्यासहरू छोड्दै विस्फोट पनि हुन्छ।

सर्वसाधारणलाई सचेत रहन सल्लाह दिँदै अधिकारीले यस्तो ब्याट्री बिग्रिएमा, बढी चार्ज भएमा वा अत्याधिक गर्मीले खतरा निम्त्याउन सक्ने बताए।

यस्तै, यो घटनाले घरपालुवा जनावरहरूलाई विशेष ध्यान दिन आवश्यक भएको देखाउँछ। घरमा परिवारका सदस्यको अनुपस्थितिमा तिनीहरूले आफैलाई वा अरू कसैलाई हानि नपुर्‍याउन् भन्नका लागि सतर्क रहनुपर्ने अधिकारीहरूले बताएका छन्।

भिडियो: