सामाजिक न्यायका अभियानको ‘इन्टरसेक्सनल’ समीक्षा

आफ्नो ‘प्रिभिलेज’ मनन गर्दै सीमान्तकृत आवाजको उठान गर्नु बहुआयामिक पुँजीमा पहुँच भएकाको नैतिक जिम्मेवारी हो, त्यसो गर्नु तिनको उदारता होइन।

ग्रासरुटमा मौलाएका सामाजिक प्रतिरोधदेखि मूलधारसम्म फैलिएका राजनीतिक अभियानले समानतामूलक न्यायिक समाज निर्माणमा योगदान गर्छन्। समाजमा प्रगतिगामी सोच अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। न्याय स्थापना गर्न यस्ता अभियान र प्रतिरोधले ठूलो आडभरोसा दिने कुरामा दुई मत छैन। हिजोदेखि निरन्तर घरगाउँ र सडकदेखि सदन हुँदै आज सामाजिक प्रतिरोधका अभियान इन्टरनेटमार्फत बृहत् सञ्जालमा आइपुगेका छन्। ती धेरै परिष्कृत, पृथक् र बहुआयामिक हुँदै आएका छन्। 

सामाजिक रूपान्तरणका हरेक अभियानले निमुखा र दमन–दलनको सिकार बनाइएकालाई सशक्त बनाउँछन्। संरचनागत रूपमा नै बहिस्कृत र सीमान्तकृत समूहका लागि यस्ता प्रतिरोध र अभियान राजनीतिक चेत, सामूहिक शक्ति सिर्जना र अधिकार पुनः प्राप्तिको आधारशिला हो। 

सीमान्तकृत समुदाय र ग्रासरुट प्रतिरोधका लागि सामाजिक अभियान सुरक्षित स्थान हुन्, जहाँ उनीहरू ‘आफू’ हुन सक्छन्, आफ्नो सीमान्तीकरण र बहिष्करणको कथा समानुभूत र वैध (भ्यालिडेट) भएको महसुस गर्छन्। तर, यो व्यवहारमा प्रत्याभूत भएको छ या छैन भन्ने कुरा महत्त्वपूर्ण हो। यसै पनि सीमान्तकृत समूहमा स्रोत-सिपको अभाव र पहुँचको कमी रहेको सर्वविदितै छ। 

तर दुःखको कुरा हाम्रा मूलधारे भनिएका अभियानले अझै पनि सीमान्तीकरणका तहहरू अनुभूत गर्न सकेका छैनन्। ती समुदायका लागि सुरक्षित स्थान बनाउन सकेका छैनन्। सामाजिक न्यायको अभियानभित्रै आफ्नो अस्तित्वको मूल्य बुझाउन, उपस्थिति नियमित गर्न, तथाकथित ठूलो र मूलधारे अभियानमा सहसाझेदार हुन गर्नुपर्ने संघर्षको अनुभव अभियानभित्र प्रशस्तै सुन्न, हेर्न र भोग्न पाइन्छ। 

यौनकर्मीको पेसागत मर्यादा र अधिकारको अभियान, मुक्त कमलरी अभियान, मुसहर महिला अधिकारलगायत अभियानले अझै पनि मूलधारे मानव अधिकारको अभियानमा आफूलाई नपाउनु एउटा उदाहरण हो। हरेक अभियानभित्र एक खाले समूह, शक्तिको बबल (समूह) छ र सबै आफ्नै बबलमा लिप्त छन्, जसमा मूलतः सीमान्तकृत अभियान र निश्चित पहिचानका अभियन्तालाई स्वागत गरिँदैन।

सेलेक्टिभ एक्टिभिजम् र सेभियर मनोविज्ञान
सैद्धान्तिक हिसाबमा सामाजिक न्यायका हरेक अभियान एकअर्काका पूरक र सहअभियान हुन्, जसले समान अस्तित्व, महत्त्व र हैसियत राख्छन्। एकअर्कालाई बलियो, सफल र अर्थपूर्ण बनाउँछन्। विडम्बना, महिला अधिकार, बाल अधिकार र पहिचानका अधिकार बारेका हाम्रा मूलधारे अभियानले सीमान्तकृत अभियानलाई सहअभियानको हैसियतका रूपमा स्विकार्न अझै नसकेकोझैँ लाग्छ। महिला यौनकर्मी, क्वियर, आदिवासी, दलित तथा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित समुदायका महिला अधिकार लगायतका आन्दोलनको त्यही अनुभव छ। 

समान हैसियतभन्दा पनि ‘दयाभाव’ र सहकार्यभन्दा ‘सेभियर कम्प्लेस’ हाबी भएको अनुभव यी समुदायले गर्छन्। कतिपय कार्यक्रममा समावेश गराउँदा पनि सक्रिय साझेदारका रूपमा नभई सजावटको वस्तु या खाली ठाउँ भर्ने पात्र या देखावटी समावेशिताका लागि टोकनको रूपमा संलग्न गरिन्छ।

यौनकर्मी अधिकार अभियन्ता, भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित समुदायको अधिकारकर्मी र मनोरञ्जन क्षेत्रको अधिकारकर्मी भन्ने थाहा पाउनासाथ फरक र हेलापूर्ण व्यवहार भएको अनुभव समुदायका अभियन्ताको छ। उनीहरूको हाउभाउ र बोलीचालीमा अनावश्यक निगरानी गर्ने, बेतुके प्रश्न गर्ने, कतिपय मुद्दामा सहयोगी वक्तव्यभन्दा पनि मुद्दाको मर्म नबुझी टिप्पणी गर्ने त कहिले अप्रत्यक्ष तरिकाले थर्काउनेजस्ता घटना यी मुद्दामा कार्यरत अभियन्ताबाट विविध अन्तरक्रियामा सुनिँदै आएको छ।

यस्ता विषयले सामाजिक न्यायका मुद्दा र अभियान बिथोल्ने र कमजोर पार्ने काम गर्छ। यो पनि अघोषित अपराधीकरण र सामाजिक बहिष्करणको एक रूप हो। समाजको कुप्रथाको विकल्प भनिएको न्यायिक आन्दोलनमा जरो गाडेर बसेको संकीर्ण आचरणलाई यसले प्रस्ट पार्छ।

समीक्षामा कम आएको तर व्यवहारमा प्रस्ट देखिने अभियान र अभियन्ता समूहको हानिकारक प्रवृत्ति नै ‘सेलेक्टिभ एक्टिभिज्म’ (छानीछानी गरिने अभियान) हो। ‘म मानव अधिकार रक्षक हो, तर दलित समुदायविरुद्धको दुर्व्यवहार मेरो विषय होइन’, ‘म बलात्कारविरुद्ध सडक सदनमा भिड्न तयार छु तर, क्वियरविरुद्धको हिंसा मेरो सवाल होइन।’ यस्ता सेलेक्टिभ एक्टिभिज्मले समस्याको वर्ग, गहनताको मापदण्ड र स्तर सिर्जना गर्छ। ‘कुन समस्याको सामाजिक पुँजी कति’ भन्ने मूल्य तोक्छ। जबकि अभियान र  अभियन्ताको कुनै वर्ग, जात, लिंग, भूगोल र गाम्भीर्यका मापदण्ड नहुनु पर्ने हो। सामाजिक न्यायका सबै विषय समान हुन्।

केही दृष्टान्त
काठमाडौँ तथा नेपालका विविध जिल्लामा राज्यले गरिब भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बस्तीमा डोजर आतंक मच्चाएको, सडकमा निर्भर व्यवसायीमाथि राज्यशक्ति नै लागेका विषय हरेक मिडिया र सामाजिक सञ्जालमा छन्। अन्तर्राष्ट्रिय शून्य निष्कासनसम्बन्धी न्यायाधिकरण ‘शून्य निष्कासन अभियान’ सन् नोभेम्बर २०२२ को काठमाडौँमा हुँदैगर्दा काठमाडौँ, थापाथलीका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बस्ती उठीबासको घटना विश्वभरिको निष्कासनको सवालमा मुख्य १० मुद्दाअन्तर्गत परेको थियो। 

तर, यो स्तरको राज्यशक्तिको ज्यादतिविरुद्ध पीडितको पक्षमा एकाधबाहेक कुनै महिला अधिकारकर्मी, आफूलाई मानव अधिकारको पहरेदार दाबी गर्नेहरू र ‘नेपालका विपन्न बच्चाको अभिभावक मै हुँ’ भनेर डंका बजाउने बाल अधिकारकर्मी वा संस्था, कोही पनि उभिएनन्। पीडितहरू सडकमा एक्लै लडे, अदालतमा एक्लै जुधे। उल्टो कतिपय प्रगतिशील भनाउँदाहरूले त व्यंग्यात्मक टिकटक बनाए। 'डिप्लोमेटिक र पोलिटिक्ली करेक्ट' अभिव्यक्ति दिएर पन्छिए।  

पीडित समुदाय सहयोगका लागि सम्पर्कमा आउलान् कि भन्ठानेर कतिपय अधिकारकर्मी तर्केजस्तो प्रशस्त देखियो। यस्तै हालत छ विकासको नाममा विनाश र विस्थापन निम्त्याउने जलविद्युत् परियोजना, केबलकार परियोजना र अन्धाधुन्ध ‘निकुन्जीकरण’विरुद्ध लडिरहेको आदिवासी जनजाति, माझीलगायत अभियानको। 

उनीहरू अझै पनि आईएलओ १६९ को स्वायत्त आदिवासी अस्तित्व, स्वनिर्धारण अधिकार, सहमतिसहितको पूर्ण सूचनाजस्ता नारा बोकेर एक्लै लडिरहेका छन्। ती मुद्दामा संयुक्त राष्ट्रसंघ, मानव अधिकार आयोग, वातावरण अभियन्ता, मिडिया वा अन्य मानव अधिकारकर्मी तथा अभियानको ऐक्यबद्धता शून्यसरह छ।

यो विषयमा लेखिदिऊन् र बोलिदिऊन् भनेर मुखै फोड्दासमेत ‘अन्सुना’ हुने गरेको छ। जबकि, मूलधार भनिने अभियान र नेतृत्वको मुख्य भूमिका छरिएका अभियानलाई, प्रगतिगामी प्रतिरोधपूर्ण प्रयासलाई स्वतःस्फूर्त रूपमा सँगै ल्याउने वातावरण बनाउनुपर्ने हो। हरेक तहका अभियानबीच परामर्श, सहकार्य र शक्तिस्रोत विकास गर्नु हो। तर छरिएका भूमि अधिकार, आदिवासी जनजाति, भूमिहीन दलित, सुकुमबासी, र अव्यवस्थित बस्ती, माझी समुदाय, शहरी गरिब मुसहर समुदायलगायतका आन्दोलनसँगै आउन र ल्याउन नसक्नु पाखण्डको उदाहरण हो। 

सीमान्तकृतको कथामा सामाजिक पुँजी
सीमान्तकृतको कथाको सहारामा आफ्नो नाम, करियर र सामाजिक पुँजी स्थापित गर्ने, अभियन्ता बनी टोपल्ने तर जबाफदेही र निष्पक्ष भएर पीडितको पक्षमा दरो भएर उभिन पर्ने बेलाचाहिँ मौन बस्ने या शक्तिकै पक्षमा उभिनु पाखण्ड हो। सामाजिक सञ्जालमा स्वतन्त्र प्यालेस्टाइन, मधेश अधिकार, आदिवासी अधिकार, अपांगता भएको व्यक्तिको अधिकार नारा लेख्ने, तर आफ्नै कार्यालयमा हिंसा प्रोत्साहन गर्ने र असन्तुलित शक्ति संरचनामा टेवा पुर्‍याउने धेरै अभियन्ता छन्। 

शक्ति र सत्ता गुम्ने डरमा पीडितलाई नै दोषी ठहर्‍याउने प्रवृत्तिले न्यायको मूल मर्म कमजोर पार्न र सामाजिक अभियानको नैतिक आधार खस्काउन भित्रभित्रै धमिराको काम गरिरहेको छ, जसले प्रत्यक्ष र परोक्ष रूपमा अभियान कमजोर बनाउँछ। अभियानमा विश्वास राख्ने समूहलाई निरुत्साहित र दुखी तुल्याउँछ।

यसको निरन्तरता अभियानभित्रको गेटकिपिङ वा पहरेदारीमा हुन्छ। अभियानभित्रै हुने समुदायको पहिचान, अवसर, स्रोत र सहयोगी समूहको पहुँचमा पहरेदारी कम्ता डरलाग्दो छैन। उमेरवाद, सक्षमतावाद, नातावादजस्ता अव्यक्त मापदण्डले अभियन्ताको वैधानिकता निर्धारण गरिन्छ। एकातिर ‘अभियानमा पुस्तान्तरण अभाव’ देख्ने, अर्कोतिर अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सधैँ ‘नानीबाबु’ र काँचो तथा सीमान्तकृत अभियानलाई नयाँ देख्ने प्रवृत्ति छ। 

अर्को कुरा, इन्टरनेट प्रविधिसँग हुर्किएका पुस्ताका लागि अभियानको प्रभावशाली स्थान र माध्यम हो इन्टरनेट। तर इन्टरनेटलाई अवसर मान्नुको साटो उल्टै नवअभियन्तालाई ‘किबोर्ड लडाकु’ भनेर मजाक उडाउन खोजिन्छ, तिनको सिर्जनशीलता र नवीनतालाई अवमूल्यन गरिन्छ। 

साथै, मूलधारे राजनीतिक अभियानको विकल्प भनिएको सामाजिक अभियानमा पनि अझै असन्तुलित शक्ति, अभ्यास र वादहरूको हाबी चरम विन्दुमा छ। विविध पहिचान गर्ने महिला, क्वियर, आदिवासी तथा दलित लगायतको सन्दर्भमा जातिवाद, लिंगवाद, नस्लवाद, भूगोलवाद र पितृसत्तात्मक विचारधारा हाबी छन्। 

फलस्वरूप, सीमान्तकृत र अभियानमा नयाँ समूहविरुद्ध क्षमता र प्रभावमा प्रश्न निरन्तर उठाइन्छ। उनीहरूप्रति विश्वास कम र शक्ति हस्तान्तरणमा संकोच राखिन्छ। सामाजिक न्याय अभियानमा अभ्यस्त हुन चाहने सुरूआती समूहलाई शुरूमै सक्षम, सर्वज्ञानी र सिप सम्पन्न हुनुपर्ने अपेक्षाको बोझले थिचिन्छ। 

अन्ततः अभियानले नयाँ पुस्ता पाउन र नवप्रगतिगामी अभियन्ताले यी अभियानभित्र आफूलाई पाउन कठिन हुन्छ। यसो भनिरहँदा यी मूलधारे अभियन्ताका साथै नवअभियन्ताले पनि सीमान्तकृत सामाजिक सरोकारको सवालको गहिरो अध्ययनको कमी, अनुसन्धान र बुझाइको सीमितता चिर्न बाँकी रहेको सत्य भने नकार्न मिल्दैन। 

जति धेरै सहअभियान र जति धेरै सहयोगी जमात त्यति धेरै उद्देश्य प्राप्तिमा सहजता सामाजिक न्यायको अभियानको सुन्दरता हो। एकै सवालमा धेरै संस्था तथा अभियानको उपस्थिति चुनौतीभन्दा अवसर हो। विडम्बना यी अवसरलाई हाम्रा अभियानले अझै पुँजीमा रूपान्तरण गर्न सकेको छैन। सहकार्य र समन्वय तीव्र गर्न सकेको छैन। उल्टो यी बहुलतालाई चुनौती ठान्ने अभ्यास छ। क्रमशः स्रोत सञ्चितीकरण र सहयोगी सञ्जालको पहुँचमा पहरेदारी उत्तिकै व्याप्त छ। ग्रासरुट समुदायमा आधारित अभियान यो तुच्छ अभ्यासको प्रमुख मारमा छन्। यस्तो संस्कारले भुईं अभियान र स्रोत तथा अवसरबिचको खाडल ठूलो पर्नेमा शंका छैन। समान अभियानको सहकार्यको सम्भावना धमिलो पर्ने निश्चित छ।

कुनै कामको जस दिनु र न्यायपूर्ण फाइदाको वितरण नैतिक सवाल हो, तर यस्तो अभ्यास हाम्रा अभियान र अभियन्तामा फितलो छ। विविध अध्ययनले देखाएको छ कि सामाजिक न्यायको अभियानमा कुनै एक व्यक्तिको स्वामित्व हुँदैन। निश्चित व्यक्तिले नेतृत्व गरे तापनि नेपथ्यको धेरैको साथ, योगदान र साहसले मात्र अभियान सम्भव हुन्छ। रंगभेदविरुद्ध आन्दोलन, पहिचानका आन्दोलन, महिला मानव अधिकारलगायत स्वतन्त्रताका मूलधारे राजनीतिक आन्दोलन यसको ज्वलन्त उदाहरण हुन्। 

तर निश्चित व्यक्ति र तिनको कामबाहेक अधिकांश तथ्य छायामा पर्छन् र पारिन्छन्। अभियानको प्रतिफलस्वरूप पाइएका आर्थिक, सामाजिक र नैतिकलगायत फाइदा मूल समुदायमा कहिल्यै पुग्दैन, जुन नैतिक र न्यायिक सिद्धान्तको विमुख छ।

सम्भ्रान्त नेतृत्व र नैतिक जबाफदेहिता
समीक्षामा चुकेको अर्को विषय सम्भ्रान्त समूहले नेतृत्व गरेको अभियान र तिनको नैतिक जबाफदेहिता हो। कुनै पनि अभियानमा जसको क्षमता जति हुन्छ, त्यति नै योगदान गर्ने हो। यसमा कसैको रोकतोक वा पहरेदारी तुच्छ र तर्कहीन छ। यसो भनिरहँदा जबाफदेहीताका नैतिक सर्तमा सम्झौता हुनुहुँदैन। 

निश्चित रूपमा आर्थिक, बौद्धिक, राजनीतिक, सामाजिक पुँजी र पहुँच भएका समूहको सुनुवाइ सहज र बृहत् हुन्छ। त्यसैले आफ्नो ‘प्रिभिलेज’ मनन गर्दै सीमान्तकृत आवाजको उठान गर्नु बहुआयामिक पुँजीमा पहुँच भएकाको नैतिक जिम्मेवारी हो, त्यसो गर्नु तिनको उदारता होइन। सामाजिक न्यायका आन्दोलन आफू स्थापित हुने र शक्तिशाली बन्ने अवसर पनि होइन। अतः सीमान्तकृत समूह सधैँ पीडित, शक्तिहीन र निष्क्रिय अंग रहने तर तिनका मसिहाका रूपमा उही सम्भ्रान्त वर्ग रहने संस्कार सामाजिक न्यायमाथि नै छेडखानी हो। 

गरिबको कथा बोलेको भरमा कथित उच्चवर्ग या कथित उच्च जातकाले नै अवसर पाउने र तिनको सामाजिक पुँजी थपिने, तर कथाका असली पात्र; उत्पीडित र गरिबको भने कहिल्यै उद्धार नहुने कुरा आफैँमा उदेकलाग्दो छ। उत्पीडनमा परेकाहरू ‘आफ्नै नेता’ कहिल्यै नहुने, सधैँ दयापात्र र अरूप्रति अनुग्रही हुनुपर्ने अवस्था गलत हो। सीमान्तकृत समूहको ज्ञान, पीडा, पुस्तौँपुस्ता लामो अन्यायलाई सिँढी बनाएर जानी नजानी निम्त्याइएको बहुआयामिक सीमान्तीकरण हो यो। यसको समीक्षा हरेक टाउके अभियान/अभियन्ताले आफ्नो प्रिभिलेज र आफूले ओगटेको स्थान तथा पाएको सुविधाको हिसाबकिताब गर्नुपर्छ। 

सामाजिक जटिलताले समाजलाई बृहत् र पूर्ण रूपमा नियाल्ने, चिन्ने र बाँच्ने अवसर दिन्छ भन्छ समाजशास्त्र र न्यायशास्त्रको सिद्धान्तले। त्यसो हुँदा इन्टरसेक्सनल र सीमान्तकृत दृष्टिकोण विकल्प नभई अनिवार्यता हो। सामाजिक न्याय र रूपान्तरणको अभियानमा यो लागू हुन्छ। मुद्दाको सतही बुझाइ र बहुआयामिक वास्तविकता, विषयगत जोखिम र अन्तरसम्बन्धित अवसरको मापन नगरेकै कारण असफल हाम्रा विकासे पहल र क्षणिक/अस्थायी अभियानबाट सिक्न सकिने धेरै कुरा छन्। किन गरिब दलितहरू विद्यालय गएर पनि धनी भएनन्, किन हजारौँ आन्दोलनका बाबजुद बलात्कारका अपराध रोकिएनन्, किन यत्रो विकासे लगानी हुँदा पनि भुईंमान्छेहरू भुईंबाट उकासिएनन्?

जबसम्म हाम्रा अभियान र विकासे कामले यी प्रश्नका समस्याको संरचना र जटिलताको गाँठोप्रति अनदेखा गर्छ, हाम्रो लगानी मूल्यहीन बनिरहन्छ। अभियानको बुझाइमा बहुलता, रणनीतिक मार्गदर्शनमा इन्टरसेक्सनल दृष्टिकोण र कार्यमा समाजको वास्तविक जटिलता प्रतिविम्बित भएन भने अपेक्षित लक्ष्य हासिल सम्भव छैन। यो एकात्मक र स्थिरतावादको अवस्थामा हाम्रा अभियानको औचित्य र दिगोपन धराशायी छ।

अभियानको दिगोपन धराशायी तुल्याउने अर्को पक्ष सुरक्षा-संवाद हो। विकासे संस्था र मानव अधिकार रक्षकहरूसँग सुरक्षासम्बन्धी काम गर्ने सिलसिलामा समष्टिगत सुरक्षाको बुझाइ र अभ्यास न्यून भेटिन्छ। विविध अध्ययनले पत्रकार, महिला राजनीतिज्ञ, क्वियर समुदाय, अभियन्ता, कलाकारहरू नै सबैभन्दा बढी सुरक्षा जोखिममा हुने प्रमाणित गरेको छ। अभियानको हकमा भूमि अधिकार, आदिवासी पहिचान, क्वियर तथा यौनकर्मीहरू सधैँ सामाजिक, राजनीतिक र आर्थिक जोखिममा रहन्छन्। उनीहरू अधिक मात्रामा राज्यको निगरानी र नियन्त्रणको रडारमा रहन्छन्। यसका बाबजुद पनि सुरक्षासम्बन्धी सावधानी हाम्रा प्राथमिकतामा परिसकेको छैन। 

त्यस्तै, खासगरी ग्रासरुटका काम सधैँजसो स्रोतसाधनको अभावमा चल्नुपर्ने बाध्यता छ। सुरक्षा, मानसिक/भावनात्मक स्वास्थ्य विलासिताको विषय बन्न जान्छ त्यहाँ। अर्कोतर्फ अभियान र अभियन्ताले भोग्ने जोखिमको ‘ग्लामराइजेसन र रोमान्टिसाइजेसन’ प्रचुर छ। ‘व्यक्तिले भोग्ने जोखिम, आक्रमण र अनावश्यक संघर्षले तिनलाई परिपक्व अभियन्ता बनाउँछ’ भन्ने गलत सिकाइको सिकार सायद हामी धेरै छौँ।

यस्ता आख्यान र सिकाइले अभियान र अभियन्ताको सुरक्षालाई हलुकासित लिने जोखिम बढाउँछ। कल्पना गरौँ त, यदि अभियान हाँक्ने समूह र तिनको मानसिक/भावनात्मक स्वास्थ्य नै धरापमा छ भने त्यो अभियानको आयु कति हुनसक्ला? पछिल्लो चरणमा सुरक्षाको प्राथमिकीकरण, सुरक्षा र जोखिम मुल्यांकन, सुरक्षा संयन्त्र निर्माणको यदाकदा हुन थालेको पनि छ, जुन महत्त्वपूर्ण शुरूआत हो।

सामाजिक न्याय र एकेडेमिया
छलफल गर्न सकिने अर्को महत्त्वपूर्ण विषय ‘सामाजिक न्याय र रूपान्तरणका अभियान र एकेडेमिया’ पनि हो। सामाजिक न्याय र रूपान्तरणका अभियान र एकेडेमियाको दूरी सायद अधिकांश विद्यार्थी–अभियन्ता र अध्येताले अनुभव गरेको हुनुपर्छ। विश्वविद्यालयमा घोकाइने सिद्धान्त कि त अधिकांश सडकको अभियानसँग व्यावहारिकतामा चुक्छ, कि सैद्धान्तिक सम्बन्ध निर्माणमा फेल खान्छ। समाज अध्ययनका लाखौँ महत्त्वपूर्ण अनुसन्धान विश्वविद्यालयको पुस्तकालयमा थन्किएका छन्। जसको खोजी र प्रयोग न सामाजिक अभियानको प्राथमिकता बनेको छ न विश्वविद्यालयको शैक्षिक क्रान्तिले नै परिकल्पना गरेको छ। 

ज्ञान उत्पादन र व्यावहारिक अभियानबाट परिकल्पना गरिएका यी क्रान्तिकारी पहल अन्धाधुन्ध आफ्नै सुरमा हिँडिरहेका छन्। गर्न सके यिनको सहकार्य सामाजिक रूपान्तरणको उत्कृष्ट साझेदारी हुने थियो। ज्ञान उत्पादन र अभियानको संयोजनमा अभियान/अनुसन्धान र वकालत एक दिगो अवसर हो।

अतः जरो गाडेर बसेका संरचनागत समस्या, असन्तुलित शक्ति बाँडफाँट र तिनको अभ्यास तोड्न सहज छैन। शक्तिसम्पन्नविरुद्ध सामाजिक अभियान गर्नु, त्यसलाई दिगो बनाइ सफलता हासिल गर्नु चुनौतीपूर्ण हो। सामान्य जीवनयापन गर्न पनि कठिन सामाजिक पृष्ठभूमिमा आफूलाई अभियानमा टिकाउन सक्नु धेरैका लागि ‘प्रिभिलेज’ हो। 

व्यक्तिगत जीवन र अभियानमा समेत उपस्थित बढ्दो पितृसत्तात्मक आचरण, पुँजीवाद, उमेरवाद, संरक्षणवादलगायत वादहरूको उपस्थितिले अभियानलाई अझै बोझिलो तुल्याएको छ। यो हुँदाहुँदै, कैयौँ व्यक्तिले अभियानमा आफ्नो आर्थिक, व्यावसायिक भविष्य, पारिवारिक र सामाजिक विलास नै तिलाञ्जली चढाएको हामीले देखेका छौँ, जुन आसलाग्दो र गर्विलो पक्ष हो। तर, विद्यमान चुनौती र कमजोरीहरू चिर्नकै लागि भए पनि पूर्वाग्रहबिना समीक्षात्मक छलफल अपरिहार्य छ। 

हाम्रा अभियान र सामूहिक शक्ति सामाजिक न्याय र अधिकार पुनः दाबी र पुनर्स्थापित गर्नेतर्फ उन्मुख हुनुपर्‍यो। यसको मौलिक, सैद्धान्तिक र आधारभूत मूल्यमा सम्झौता हुनुभएन। त्यसैले पनि अभियानभित्रका शक्ति र कमीकमजोरीको निरन्तर र चरणबद्ध पुनरावलोकन, मूल्यांकन अत्यन्त जरुरी छ।

प्रिभिलेज र यसबाट प्राप्त सहजता मनन गर्दै नयाँका लागि स्थान निर्माण र आफ्ना सीमा निर्धारणको अर्को विकल्प छैन। अभियान र अभियन्ताले आफ्नो सहजता बाहिर गएर आत्मालोचना गर्दै आफ्नो काममा अझ साहस, बल र स्पष्टता ल्याउनु आवश्यक छ। विद्यमान उमेरवाद, जातिवाद, लिंकवाद र शक्तिमोह चिर्दै अन्तरपुस्ता/अन्तरअभियान सिकाइ, शक्ति, अवसर र स्रोतको पुस्तान्तरण आजको आवश्यकता हो। त्यस्तै, भुईं अभियान, सीमान्तकृत अभियान तथा अभियन्तामा आर्थिक, नैतिक, वैचारिक र सामाजिक लगानी र सहयोग गर्नु आवश्यक छ। 

(बाहिग आदिवासी कथावाचक, लेखक र अभिवक्ता हुन्।)