युक्रेनी परोपकारी संस्थालाई ५१ डलर दिने अमेरिकी–रुसी नागरिकलाई १२ वर्ष जेल सजाय

रुसको एक अदालतले युक्रेनलाई सहयोग गर्ने परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएकी अमेरिका–रुस नागरिक केन्सिया खवानालाई देशद्रोहको अभियोगमा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय सुनाएको छ।

तस्वीर : एपी

अमेरिका–रुसको दोहोरो नागरिकता वाहक केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतले देशद्रोहको अभियोगमा दोषी ठहर गरिएको छ। अदालतले युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएको अभियोगमा दोषी ठहर गर्दै उनलाई १२ वर्षको जेल सजाय सुनाएको हो। 

रुसी अधिकारीहरूले केन्सिया क्यारेलिना नामले चिनिने खवानालाई फेब्रुअरीमा येकातेरिनबर्गको युराल पर्वतीय शहरबाट पक्राउ गरेका थिए। उनलाई गत साता बन्द परीक्षणमा दोषी ठहर गरिएको बताइएको छ।

पूर्व ब्याले डान्सर ३३ वर्षीय खवानाले अमेरिकीसँग विवाह गरेर लस एन्जलस गएपछि अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन्। उनी आफ्ना परिवारलाई भेट्न रुस आएका बेला पक्राउ परेकी थिइन्। 

“उनले युक्रेनी संगठनको हितमा सक्रिय रूपमा पैसा संकलन गरिन्, जुन पछि युक्रेनी सशस्त्र बलका लागि रणनीतिक चिकित्सा आपूर्ति, उपकरण, हतियार र गोला बारुद किन्न प्रयोग गरियो,” रुसको संघीय सुरक्षा सेवाले भनेको छ।

अधिकार समूह द फर्स्ट डिपार्टमेन्टले उक्त आरोप अमेरिकी परोपकारी संस्थाका लागि दिइएको ५१ डलर चन्दासँग सम्बन्धित भएको बताएको छ। मुद्दाको परीक्षण मस्कोबाट करिब एक हजार ४१६ किलोमिटर पूर्व येकातेरिनबर्गमा भएको थियो। 

खवानाले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएको उनका वकिल मिखाइल मुसाइलोभले बताएका छन्। “खवानाले चन्दा दिएको कुरालाई आंशिक रूपमा स्वीकार गरेकी छन् तर चन्दाप्राप्त हुने अधिक सम्भावना भएका संगठनलाई चन्दा दिने आफ्नो मनसायलाई स्वीकार गरिनन्,” मुसाइलोभले भने, “आफूले दिएको चन्दाको प्रयोग रुसीविरोधी कार्यका लागि गरिनेछ भन्ने उनले सोचेकी थिइनन्।”

सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि रुसले असहमतिमाथि कडा कारबाही गर्दै युक्रेनमा अपरेसनको आलोचना र रुसी सेनाको बदनाम गर्ने टिप्पणीलाई अपराधीकरण गर्ने कानून पारित गरेको छ। त्यसयता रुसले अमेरिकी नागरिकलाई पक्राउ गर्न निशाना बनाएको भन्दै चिन्ता व्यक्ति गरिएको छ। रासस/एपी