नवलपरासीमा १५ करोडमा निर्मित अस्पताल भवन उपयोगविहीन

आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकम बाँकी भएका कारण प्रयोगमा आउन नसकेको गाउँपालिकाले जनाएको छ।

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा १५ करोड ३२ लाख रुपैयाँमा निर्मित आधारभूत अस्पताल भवन उपयोगविहीन भएको छ। बौदिकाली गाउँपालिका–२ रहेको उक्त भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा प्रयोगमा आउन नसकेको हो।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकम बाँकी भएका कारण प्रयोगमा आउन नसकेको हो। “निर्माण व्यवसायीलाई दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ। रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,” उनले भने। 

चैतमा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको थियो। अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता अन्त्य हुने स्थानीयको अपेक्षा छ।