कतारमा १२ वर्ष श्रम, गाउँ फर्किएर डेढ करोड लगानीमा कुखुरापालन

बागलुङ–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माले एक करोड ५० लाख रुपैयाँ लगानीमा ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका छन्। फार्ममा ६ हजार कुखुरा पाल्न मिल्ने उनको भनाइ छ।

गलकोट– कतारमा १२ वर्ष श्रम गरेर स्वदेश फर्किएका बागलुङ–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन्। ६ हजार कुखुरा पाल्न मिल्ने फार्म बनाएका छन्। तीन हजार चल्ला थप्ने तयारी छ। 

उनले एक करोड ५० लाख रुपैयाँ लगानीमा ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका छन्। फार्म ४३ रोपनी जग्गामा फैलिएको छ। फार्ममा गाई र बाख्रा पनि पालिएको छ। यसरी काम थालेको पाँच वर्ष भयो। सामूहिक रूपमा थालिएको फार्म पछिल्लो तीन वर्षदेखि शर्माले एक्लैले सञ्चालन गर्दै आएका छन्।  

“कुखुरापालन व्यवसाय निकै जोखिमपूर्ण हुन्छ, ६ महिनासम्म हुर्काएका कुखुराले फूल पार्न थालेपछि मात्र आम्दानी दिन्छ। बजार अस्थिर छ। अण्डाको मूल्यमा उतारचढाव हुन्छ,” उनले भने, “तर हिम्मत हारिएन अहिले फार्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु।” फार्ममा प्रत्यक्ष रूपमा चारजनाले रोजगारी पाएका छन्। अहिले दैनिक तीन हजार अण्डा बागलुङमा खपत भइरहेको छ। 

तीन हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन २५ लाख रुपैयाँ लाग्ने बताउँदै उद्यमी शर्माले व्यावसायिक रूपमा गाई  र बाख्रा पाल्नेसमेत योजना रहेको सुनाए।