एउटा जुलुस आएको थियो, एकदम उग्र, ड्रम बजाउँदै। व्यवस्थापन गर्न गाह्रो परेको पुलिसको हाउभाउले देखाउँथ्यो। कुनै राजनीतिक पार्टीको हुनुपर्छ, लख काट्यौँ। तिनले खाएको बियरका बोतल सडक पेटीमै छोडेर हिँडे।
जर्मनीमा बाह्य ग्रहबाट अवतरित भएका होइनन् कुनै एलियनहरू। ती त नेपालबाट पुगेका हामी तीन जना थियौँ।
मसँग गएको साथी भन्दै थियो– पश्चिमी देशमा हामी एलियन हौँ। को हो, कहाँबाट आयो कसैलाई मतलब हुँदैन। एलियनलाई व्यवहार गर्ने यिनीहरूको एउटा छुट्टै विभाग छ, एलियन विभाग। जापानलगायत विकसित देशमा यसै नामको विभाग छ। खासमा, हामीलाई मान्छे मान्दैनन्, शंकाको आँखा फ्याँकिरहन्छन्। केही भयो भने आफ्नो भाषामा फत्फत् गर्न थालिहाल्छन्।
त्यसैले, विकसित देशमा जाँदै हुनुहुन्छ भने तपाईंले आफ्नो अहम्लाई नेपालमै गाडेर जानुपर्छ।
मसहित अरू दुई जना साथी सात समुद्र काटेर आकाशको बाटो हुँदै दुई दिनमा जर्मनी पुगेका थियौँ। जर्मनीको बिलेफिल्ड युनिभर्सिटीमा उच्च शिक्षा पढ्न एक सेमेस्टर छात्रवृत्ति पाएका थियौँ। यसर्थ हामी जर्मनीमा चार महिने विद्यार्थी थियौँ। तर परीक्षा दिएर उत्तीर्ण हुनु नपर्ने विद्यार्थी। कक्षा हुने वा नहुने कुनै टुंगो नभएको। त्यसैले, चार महिना हामीले घुमेरै सदुपयोग गर्यौँ।

जर्मनीका करिब करिब सबै शहर, नेदरल्यान्ड्स, फ्रान्स र स्वीटजरल्यान्डसम्म पुग्यौँ। यसैबीच रुस र युक्रेन युद्धले गर्दा जर्मनीमा इन्धन अभाव सिर्जना भएकोले सरकारले जर्मनीभर रेल यात्रामा विशेष छुट दियो। यस अवसरले हाम्रो जर्मनी भ्रमण झनै सहज बनाइदियो।
जर्मनी मेरो पश्चिमी देशको पहिलो र लामो भ्रमण थियो। मनभित्र अनेकथरि तरंग, उद्वेलन र चञ्चलता मडारिइरहेका थिए। कोशौँ टाढा, सात समुद्र काटेर आउनु पर्दा जीउका नशानशामा रोमाञ्चकता भरिएका थिए।
जर्मनीको डुसेलडोर्फ उत्रिदाँ दिउँसोको ३ बजेको थियो र हिउँदको अन्तिम हिउँ फुसफुसाइरहेको थियो। ट्रेन चढेर गन्तव्य बिलेफिल्ड तर्फ लाग्यौँ।
साना–साना घर। जर्मनी मात्र होइन, युरोपभरि सानासाना घर छन्। शहर छोड्ने बित्तिकै झुण्डझुण्ड बस्ती देखिन्छन्। छानो नेपालको जस्तै दुई पाखे धुरी भएका एकनासका घर। जाडो याममा धेरै हिउँ पर्ने भएकोले हिउँ झरोस् भनेर भिरालो छानो बनाएका। साना भए पनि बाहिरबाट घरभित्र चियाउँदा सुविधा सम्पन्न देखिन्छ। बिलेफिल्डको शहरी मुख्य बजार (डाउन टाउन) सानो छ। त्यस वरपर धेरै गाउँ छन्। अनुभवी साथी भन्छन्– यो गाउँ नै हो। तर सफासुग्घर उस्तै दुरुस्त, यातायातको सुविधा। हरेक घरमा बाटो पुगेका छन्, मोटर छ, बगैँचा छ। गाउँ पनि हाम्रो शहरजस्तो। तर तिनको व्यथा के हो? थाहा पाइएन। केही दुःख, पिरलो त अवश्य होलान्। जस्तो, गाउँमा बसेको पीडा, कसरी दैनिकी धान्ने चिन्तन। सोच्छु– यी गाउँका जर्मन पनि आफूलाई शहरको दाँजोमा पिछडा नै ठान्दा हुन्। साथी भन्छन्– यिनले बर्लिनसमेत देखेका छैनन् होला।

मैले जर्मनी मात्र होइन, युरोपलाई ‘चिसो तराई’को नाम दिएँ। समथर, यहाँ तातो, त्यहाँ चिसो। गहुँ, आलु र मकै फल्ने। कृषिलाई अति जोड दिएको। कुनै ठाउँ खाली छैन। लाग्यो देश बन्ने त कृषिले नै हो। विभिन्न शहर घुम्दा ट्रेनबाटै दुवैतर्फ बाली लगाएका ठूला खेत देखिन्थे। किसानहरू डोजरजस्तो खन्ने मेसिन बारीमा गुडाइरहेका थिए। बिलेफिल्डमै पनि बार बारेर लोकल कुखुरा, गाई पालेको देखिन्थ्यो।
चुरोटे जर्मन। बियर र चुरोट जर्मनको आमअम्मल हो। युवा युवतीदेखि वृद्धवृद्धा समेत चुरोट तानिरहेका हुन्छन्। चुरोट तान्ने र त्यहीँ खुट्टाले किचेर निभाउने। यस्ता चुरोटका ठुटा सडक पेटीमा बग्रेल्ती थिए। कहिले र कसले सफा गर्छन् थाहा भएन। ट्रेनबाट झर्ने बित्तिकै सडक पेटीमा चुरोटका ठुटा देखेको थिएँ। खै त, त्यो बनिबनाउ अनुशासन? शहर घुम्दा यो आम नै देखियो। भोलिपल्ट भने त्यो सफाइ भइसक्छ। स्थानीय सरकारले कुन बेला सफा गर्छ थाहा हुँदैन। नत्र, थामिनसक्नु हुनसक्छ। यसमा चाहिँ कुनै सजाय रहेनछ शायद।
एउटा जुलुस आएको थियो, एकदम उग्र, ड्रम बजाउँदै। व्यवस्थापन गर्न गाह्रो परेको कुरा पुलिसको हाउभाउले देखाउँथ्यो। कुनै राजनीतिक पार्टीको हुनुपर्छ, लख काट्यौँ। तिनले खाएको बियरका बोतल सडक पेटीमै छोडेर हिँडे। कति बेसोमति। जुलुस न पर्यो। बियरको बोतल तानेको छ, जुलुसमा हिँडेको छ। तर, त्यो त फुटबल हारेपछि आफ्नै टिमको विरोधमा रहेछ।
प्रविधिको बन्धक। प्रविधि मानिस निर्मित हुन्छ, तर यसले मानिसलाई नै बन्धक बनाउँछ। जर्मनी बसाइको पहिलो दिन म प्रविधिको बन्धक बनेँ। एलियन परियो, सामान्य कुरा पनि थाहा नहुने। बजारबाट युरो तिरेर आलु, प्याज, गोलभेँडा र चामलको सानो प्याकेट ल्याएका थियौँ। बसाइभर बाहिर खाँदा विश्वविद्यालयले दिएको पैसाले पुग्दैन, आफैँ बनाएर खाँदा ठीक हुन्छ भन्ने हाम्रो ठम्याइ थियो। बस्ने कोठामा बिजुली चुलो र पकाउने भाँडाकुँडाको व्यवस्था थियो।
पहिलो दिन आज नै भात र आलु प्याजमा झोल हालेर नेपाली खाना खान पर्यो भनेर उत्साहित भएँ। सबै तयारी गरेर खुशी हुँदै भात बसालेँ। खुशीका बीच यसो बरन्डातिर घुमौँ न त, भात पनि पाक्दै गर्छ, कोही साथी भेटिन्छ कि आफ्नो प्रयासको कुरा पनि गर्न हुन्छ भनेर बाहिर निस्केँ। परेन बित्याँस। साँचो त भित्रै छुटेछ। ढोका ढ्यांग लाग्यो भित्रबाट। मरे खुल्दैन। शुरूशुरूमा साँचो लिएर बाहिर जानपर्छ भन्ने होश नै भएन। अब बसालेको भात के होला! लौ के गर्ने?

नेपालबाट सँगै आएका साथीको कोठामा ढकढक गरेँ। वृत्तान्त कहेँ। उनले सम्झाए– कहाँ नेपालजस्तो ठानेको? यहाँ त कि भित्र, कि त बाहिर। यसरी भित्रबाहिर गर्न मिल्दैन। ती कोठाभित्रै छिरे। बाहिर चरोमुसो कोही छैन, सहयोग गर्ने कोही भेटिँदैन। दुई साथी थिए, दुवै निरीह। भित्र भात के भइसक्यो होला, के–के वितण्डा हुने हो, परदेशी मुलुक। आगो नै लाग्ने हो कि! तल ओर्लिएँ, हारगुहार त गर्न पर्यो। कोही देखा पर्दैन, सुनसान छ।
एउटी केटी सामान लिएर आउँदै रहिछे, चिनियाँमूलकी, अंग्रेजी समझ भएकी, उसले कुरा बुझी। हरेक हप्ता यस्तो हुन्छ, उसले भनी। उसले जिम्मेवारी लिएको एक केयरटेकरलाई फोन गरी, कुरा बुझाइ। उसले अर्को भवनमा रहेको त्यो मानिसको कार्यालयमा आफैँ पुर्याई। काम नसकिन्जेल मसँगै बसी, सहयोग गरी। मैले पटकपटक धन्यवाद भन्दै आभारी व्यक्त गरेँ। एउटा फाराम भरेर केयरटेकरले मास्टर किले कोठा खोलिदियो। बिदाको दिन परेकोले बिनाशुल्क काम हुने देखिएन, शुल्क पर्यो ७५ युरो, अर्थात् नेपाली १० हजार रुपयाँ। चिनियाँ केटीले भनी– महँगो छ।
भात पिँधमा डढेर कालो भइसकेको रहेछ, कोठाभरि गन्ध फैलिएछ। हालत हेरेर साथीले भने– धन्न केही भएनछ, नत्र धुँवा फैलिएको भए, साइरन बज्थ्यो, दमकल आउँथ्यो, के के हुन्थ्यो। जे होस्, भात चाहिँ खान छोड्दिन भन्दै अर्कै भाँडामा अर्को चामल बसालेँ। खासमा प्रविधिले पश्चिमा समाज बन्धक छ। बाटोमा हिँड्दा मेरो धुन देख्दा साथीहरू डराइहाल्थे। भन्थे– एलियनज्यू यस्तो नगर्नोस्, यहाँ त पुलिस आइहाल्छ।
घाम लागेपछिको फुर्ति। यहाँको मौसम धेरै हिउँ पर्ने, चिसो हुने र भिटामिन डी खानुपर्ने खालको हुने रहेछ। मानिस डिप्रेसनमा जाने खालको। तर समर अर्थात् घाम लाग्ने मौसम जुन चार, पाँच महिनाको हुन्छ, मानिस सेलेब्रेसन गर्ने रहेछन्। बाक्लो लुगा फ्याँक्ने र पातला लुगा लगाउन पाउँदा उत्पातै रमालो मान्ने। पार्क र खुला ठाउँमा निस्कने, अबेरसम्म बस्ने, सुत्ने। यिनीहरूको घरमा कौसी, खुला बरन्डा हुँदैन, त्यसैले घाम ताप्न खुला ठाउँ, रेस्टुरेन्टको बाहिर झुम्मिने गर्छन्। बिलेफिल्डको हिटलर पार्कमा यस्ता केटाकेटी, परिवारको झुण्ड देखिन्थ्यो। अन्य शहरमा घुम्दा पनि मानिसहरू बाहिर पार्कमा तन्नाजस्तो कपडा ओछ्याएर घाम तापिरहेका थिए।

माग्ने र हुल्लडबाज। जर्मनीजस्तो विश्वको चौँथो अर्थतन्त्र भएको देशमा कति होलान् त घरबारबिहीन? हुन त एकातिर युक्रेनी शरणार्थी स्वागत गरिरहेको छ, अर्कोतिर आफ्नै देशमा घरबारबिहीनको संख्या आठ लाखभन्दा बढी छन् भनिन्छ। जर्मनीको कतै कतै घरबारबिहीन मानिस प्लास्टिक टाँगेर बसेका देखिन्छन्।
जर्मनीको कुनै पनि शहरको, मुख्य केन्द्र डाउन टाउनमा दाँतमा ढुंगा लागेजस्ता यस्ता माग्ने देख्न पाइन्छ। पुलिसले केही गर्दैन। एउटै कुरा यहाँ बच्चाहरू माग्न बस्दैनन्। नत्र, गितार बजाउँदै माग्न बस्नेदेखि कागजको गिलास र क्याप थापेर मागिरहेको देख्न पाइन्छ। मैले बिलेफिल्ड शहरमा ट्रेनबाट झर्ने बेला देखेँ– एउटा बूढो माग्ने पैसा माग्न हात पसारिरहेको छ, जड्याहा टाइपको। मैले त्यसलाई हेरिरहेँ, खुट्टामा घाउ भएर सुन्निएको छ। यहाँका माग्नेलाई युरो दिनुपर्छ, त्यति आँट त गरिनँ। तर त्यसले मलाई आसलाग्दो आँखाले निकै बेर हेरिरह्यो।
डर्टमन्ट शहरमा जाँदा त्यहाँको ट्रेन स्टेशनको बाहिरपट्टि केही हुल्लडबाज बियर पिएर हल्लाखल्ला गरिरहेका रहेछन्। फाइट पर्यो, पुलिस आयो र हतकडी लगायो। लाने भो भनेको, के–के कुरा गरे, एकछिन पछि खोलिदियो। अर्थात्, कारबाही गरेर, भित्र लगेर राख्न चाहने रहेनछ पुलिसले। तिनीहरू बियरले हल्लिँदै त्यतै घुमिरहेका थिए। ती जर्मन थिएनन्, आप्रबासी थिए।
पिसाब फेर्दैनन् कि के हो! जर्मनीमा मुख्य समस्या त शौचालयको छ। सार्वजनिक शौचालय छैनन् कतै पनि। जान्नेसुन्ने भन्छन्– पूरै युरोपमा यस्तै हो। बियर पिउनोस्, तर पिसाब फेर्न घर नै जानुहोस्। बजारको भित्री भागमा, ट्रेन स्टेशनमा कतै–कतै पाइन्छ। तर खुला स्थान, चाहिने ठाउँमा कतै पनि छैन।
एक समय फुटबल हेर्ने दर्शकको भीड थियो रंगशालाअगाडि। बियर हातमा नसमाति त जर्मन उभिनै सक्दैनन्। चुरोट त छँदैछ। दुईजनालाई पिसाबले च्यापेछ। त्यहीँ रुखको आडमा पिसाब फेर्न लागे। चार पाँच जना पुलिस त्यतै आउँदै थिए। ती दुईले देखेनन्। अरूले ए, ए भन्दै थिए। पुलिसले समातिहाल्यो। केरकार गर्न थाल्यो। हाम्रो जस्तो भाग्ने भन्ने हुँदो रहेनछ। कति जरिवाना तिरायो थाहा भएन।
कतै घुम्न जान पर्यो भने हामी पानी कम खाएर वा ट्रेनमै पिसाब गरेर हिँड्ने अभ्यासमा लाग्यौँ। जर्मनीबाट फर्केका अर्का एक जना सर आफ्नो अनुभव सुनाउँदै थिए– हामी त रुखमा छलिएर गथ्र्यौं, अर्को एक जना साथी गार्ड बस्थ्यो।
हाँसो– बियर खान दिने, लागेपछि रल्लिन नपाइने, पिसाब फेर्न घर नै पुग्नु पर्ने। यी जर्मनलाई पिसाब फेर्ने सुविधा दिने हो भने त बियर तानेर सडकमै सुत्छन् नि। कम्तिमा पिसाब फेर्न भए पनि घर त पुग्छन्।

सम्पन्नताको उचाइ। जर्मनी सम्पन्नताको उचाइमा छ। मानवता, सुख शान्तिको कुरा म गर्दिनँ। तर भौतिक निर्माणको कार्य सम्पन्न भइसकेको छ। यहाँको नगरपालिकाको काम बियरका बोतल र चुरोटका ठुटा सफा गर्नु मात्र छ। हरेक सडकमा फूल फुलेका छन्, हरियाली छ, दुबो रोपिएको छ, बगैँचा निर्माण गरिएको छ। सडकपेटीमै फलिरहेका ब्लुबेरी टिपेर खायौँ, कतै त चुत्रो रोपिएका थिए।
लामो दूरीमा चल्ने ट्रेन, शहरभित्र चल्ने मेट्रो र सार्वजनिक बसको व्यवस्थाले यातायातमा कुनै दुःख छैन। द्रुतगतिमा चल्न सक्ने, शहर बस्ती जोड्ने ठूला ठूला सडकको निर्माण गरिएको छ। सरसर्ती हेर्दा गर्नु पर्ने काम केही छैन। फ्रान्स, नेदरल्याण्ड र स्वीट्जरल्यान्ड पुग्दा यही अनुभूति भयो। लाग्यो उनीहरू दुःख गरेरै यहाँ पुगेका हुन्, मिहिनेत गरेरै देश बनाएका हुन्।
इतिहासको संरक्षण पनि गजबसँग गरिएको छ। जस्तो बर्लिनलाई इतिहासको शहर भनिन्छ, यसको चोक चोकमा इतिहासलाई संरक्षण गरिएको छ। बर्लिन पर्खाल, होलोकोस्ट संग्रहालय, हिटलरको संग्रहालय आदि देख्न सकिन्छ। बर्नको विथोवनको गृह र संग्रहालय, क्लोनको भव्य चर्च र अमर प्रेमीले लगाएका ताल्चाले भरिपूर्ण पुलको बार, नजाने कतिको डिभोर्स भइसकेको हुनसक्छ (कस्तो अन्धविश्वास हो पश्चिमी प्रेमीको), ब्रेमिनको लोककथामा आधारित संगीतकार भाले, लोखर्केे, फ्याउरो र गधाको प्रतिमा तथा विल्हेल्मसेभेनमा रहेको युद्धपोत संग्रहालय र मुनस्टरको दोस्रो विश्वयुद्धपछि पुनर्निर्माण गरिएका ऐतिहासिक घरहरू र चर्च आदिको सम्झना बोकेर हामी चार महिनापछि नेपाल फर्कियौँ। कार्ल मार्क्सको घर कहाँ पर्छ सोधेँ। तर टाढा भएकोले जाने इच्छा अधुरै रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
