करवृद्धिको विरोधमा व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरअगाडि धर्ना

करवृद्धिको विरोधमा व्यवसायीले सटरको साँचोसमेत उपमहानगर प्रमुख र उपप्रमुखलाई बुझाएका छन्।

बागमती– करवृद्धिको विरोधमा व्यवसायीले व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिका कार्यालय अगाडि धर्ना बसेका छन्।

मकवानपुर उद्योग वाणिज्य संघको आह्वानमा व्यवसायीले आ–आफ्ना व्यवसाय बन्द गरेर उपमहानगरपालिका कार्यालय अगाडि धर्ना बसेका हुन्। 

सो क्रममा व्यवसायीले सटरको साँचोसमेत उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई बुझाएका छन्। 

हेटौँडा उपमहानगरपालिकाको नगरसभाले अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गर्दै करको दरमा वृद्धि गरेको विरोधमा व्यवसायी आन्दोलित भएका छन्।

विश्वव्यापी आर्थिक मन्दीका कारण व्यापार व्यवसाय संकटमा परेका बेला हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा घरबहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजस्व वृद्धि गरेकोले आन्दोलनमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णगुप्ता अग्रवालले बताए।

राजस्व वृद्धिको निर्णय नसच्याएसम्म आफूहरू आन्दोलन जारी राख्ने उनको भनाइ छ। यता हेटौँडा उपमहानगरपालिकाले करको दरमा गरिएको हेरफेरको निर्णयबाट पछि हट्न नसक्ने जनाएको छ।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेले १५औँ नगरसभाले अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गरी जारी भइसकेको अवस्थामा व्यवसायीले उठाएको माग सम्बोधन गर्न नसकिने बताए।

“स्थानीय सरकारले आर्थिक ऐन जारी गरेपछि करको दरमा तत्काल हेरफेर गर्न सकिँदैन,” उनले भने, “अब आगामी आर्थिक वर्षमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी टुंगो लगाउन सकिन्छ।” यसका लागि पहल भइरहेको उनको कथन छ।