सहअस्तित्वमार्फत मानव–हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्दै बाहुनडाँगीबासी

हात्तीलाई आहार जुटाउन जुकेखाँडी सामुदायिक वनले २० हजार फलफूलका बिरुवा रोपेको छ। स्थानीय समुदायसमेत हात्तीमैत्री उपाय अवलम्बन गर्दै मानव-हात्ती द्वन्द्व न्यूनीकरणमा सहमत हुन थालेका छन्।

झापा– तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जंगली हात्तीलाई लखेटेका त्रासद रातहरू बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सिएका छैनन्। उस बेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन।

“भारततिरबाट हुल बाँधेर हात्ती गाउँ पसेपछि कुकुर भुक्न थाल्थे,” तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्षसमेत रहेका तिवारीले सुनाए, “हामीचाहिँ बाँसको भाटामा पाटा बेरेर बनाइएको पुल्ठो मट्टितेलमा चोबेर राँको बनाउँथ्यौँ र सिठी फुकेर हात्तीको हुललाई पछाडिबाट धपाउँथ्यौँ।”

गाउँका मानिस रातभर अनिदो बसेर हात्ती धपाउन खटिन्थे। एउटा बस्तीमा हात्ती पसेको हल्ला फैलिएपछि अर्को गाउँका मानिसले हात्ती छेक्न घर र सडक छेउमा परालको आगो बाल्थे। गाउँका महिला हात्ती धपाउन घण्टी बजाउँदै अगरबत्ती बालेर पूजापाठ गर्न थाल्थे भने भने पुरुषहरू शङ्खध्वनि गुन्जाउँथे। थोत्रे टिन, घण्टी सिठीको चर्को आवाज सुनेर हात्ती गाउँबाट भाग्थे । आगोको छेउछाउ नआउने हात्ती पुल्ठो बालेपछि तर्किएर जान्थे। 

हात्ती कतातिर जाँदै छन् भनेर चियो गर्न स्थानीय बासिन्दाले विभिन्न गौडाहरूमा अग्ला अग्ला मचान (टुङ) बनाउन थाले। सरकारले नै पक्की मचान बनाउन सहयोग दिन थाल्यो  पुराना मचानहरू बाहुनडाँगीको मेची किनारमा अहिले पनि छन्। 

समय क्रममा हात्ती धपाउने शैलीहरू बदलिए। तिवारीकै अनुभवमा टिनको आवाज र पुल्ठोको आगोसँग हात्ती डराउन छाड्यो। त्यसपछि हात्तीलाई धपाउन पटाका पड्काउन थालियो। बन्दुक पड्काउँदा महँगो र सरकारी अनुमति नपाइने हुँदा गाउँलेहरूले हात्ती धपाउन भारतबाट पटाका किनेर ल्याउन थाले। 

“बन्दुक पड्काउँदा हात्ती भाग्ने भएकाले हामीले तर्साउनका लागि ठूला आवाज दिने पटाकाको सहारा लियौँ,” तिवारीले भने, “मान्छेहरूले जे उपाय लगाए पनि बिस्तारै हात्तीहरू त्यसैमा अभ्यस्त हुन थाले। पटाका पड्काउँदा पनि भाग्न छाडेपछि अर्कै उपाय खोज्न बाध्य हुनुपर्‍यो।”

बुद्धिमान प्राणी भएकाले हात्तीले अस्तित्व रक्षाका लागि परिस्थितिको सामना गर्ने उपाय निकाल्दो रहेछ रहेछ भन्ने मानिसहरूले बुझे । मेचीनगर नगरपालिका–४ का नीरज घिमिरे भन्छन्, “झापामा वर्षौदेखि मानव र हात्तीबीचको लखेट्याई खेल चलिरहेको छ। मानिसले हात्ती धपाउन निकालेका हरेक जुक्तिहरू केही वर्षको अन्तरालपछि निस्तेज हुने गरेको छ ।”

भारतको पश्चिम बंगालस्थित विभिन्न आरक्षित जंगलबाट नेपाल प्रवेश गर्ने हात्तीको मुख्य गौडा नै बाहुनडाँगी हो। बाहुनडाँगीबाट प्रवेश गरेका हात्तीहरू झापाको सबैजसो क्षेत्रमा डुल्ने र क्षति पुर्‍याउने गर्छन्। कयौँ पुस्तादेखि जंगली हात्तीहरू भारतको आसाम, पश्चिम बंगाल र नेपालको कोशी प्रदेशमा विचरण गर्दै आएका छन्। तीस वर्षमा हात्ती र मानवबीचको द्वन्द्वको अवस्था झन् बढेर गएको छ। उस बेला झापाको बाहुनडाँगी मात्र हात्तीको निशानामा थियो। अहिले जिल्लाका १५ वटै पालिकामा हात्तीले जनधनको क्षति पुर्‍याउने गरेको छ। मोरङ र सुनसरी जिल्लामा केही वर्षयता हात्तीले पुर्‍याएको क्षति कहालीलाग्दो छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार हात्तीको आक्रमणमा परी २०६७ देखि हालसम्म १५ वर्षको अवधिमा ६७ जनाको मृत्यु भएको छ। सोही अवधिमा २१ वटा हात्ती समेत मारिएका छन्। जनधनको क्षति रोक्नका लागि अनेकन् उपाय अवलम्बन गरिएका छन्।

भारतबाट हात्ती पस्ने मुख्य गौडाको रूपमा चिनिएको साविक बाहुनडाँगी अर्थात् अहिलेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की अब मानव र हात्तीबीच द्वन्द्वलाई सहअस्तित्वको माध्यमबाट समाधान गर्नुपर्ने बेला आएको बताउँछन्। 

“जंगली वासस्थान र आहारको प्राकृतिक स्रोत मासिँदै गएपछि हात्तीहरू मान्छेको बस्ती र खेतबालीमा पस्न थालेका हुन् भने आफ्नो आवास र उत्पादनमाथि धावा बोल्न थालेपछि मान्छेले पनि हात्तीलाई मार्नेसम्मको गतिविधि गरेका हुन्,” वडाध्यक्ष कार्की भन्छन्, “अब पुरानो सोचबाट यो अस्तित्वको लडाइँ समाप्त हुँदैन। हात्ती त जनावर भयो। कसरी सहअस्तित्व कायम गर्ने भन्ने उपाय खोज्ने काम चेतनशील मानिसको जिम्मेवारी हो।”

मानिसले हात्तीसँग झडपमा उत्रिने स्थितिको अन्त्य गर्दै हात्तीमैत्री नीति र कार्यक्रम अघि सार्नुपर्ने उनको धारणा छ। केही वर्षदेखि बाहुनडाँगीमा उनकै नेतृत्वमा प्रकृति संरक्षण, हात्ती धपाउन आधुनिक प्रविधिको प्रयोग र बिमामार्फत बाली क्षतिपूर्तिको व्यवस्थाका विभिन्न आसलाग्दा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

हात्तीलाई पर्यटनसँग जोड्नका लागि मेची नदीको मुख्य गौडाहरूमा हात्तीको आहार हुने बोटबिरुवा हुर्काउने प्रकृति पार्क निर्माण गरिएको छ। बाहुनडाँगीमा जीपीएस प्रविधिमार्फत हात्ती प्रवेश गरेको सूचना दिने अत्याधुनिक प्रणाली जडान गरिनुका साथै साइरन बज्ने व्यवस्था मिलाइएको उनले बताए।

हात्तीको प्रवेश रोक्न बाहुनडाँगीको १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तरबार लगाइएको छ। हात्तीको निगरानी गर्ने र स्थानीय बासिन्दालाई सुरक्षा दिनका लागि आरआरटी नामक युवा दस्ता परिचालन गरिएको छ। “किसानहरूले लगाएको खेतीबालीमा हात्तीले नोक्सानी गरेमा त्यसको क्षतिपूर्ति दिलाउन हामीले बिमाको व्यवस्था मिलाउँदै छौ,” वडाध्यक्ष कार्की भन्छन्,“धान, मकै, तरकारी लगायतका बाली हात्तीले खाँदा क्षतिपूर्ति पाउने भएपछि किसानहरु हात्तीसँग झडपमा उत्रिँदैनन् । यो नै मानवीय क्षति रोक्ने अचुक उपाय हो ।”

विगत तीन वर्ष यता मेचीनगरको बाहुनडाँगी क्षेत्रमा हात्तीको आक्रमणमा मानवीय क्षति भएको छैन। गाउँले धुइरिएर हात्ती लखेट्ने चलन हटेपछि क्षति रोकिएको बाहुनडाँगीबासीको अनुभव छ। स्थानीय नगरपालिकाले पनि हात्तीमैत्री कृषि उद्यमका लागि अनुदान उपलब्ध गराउन थालेको छ। 

“विगतमा हात्तीलाई आतंकको रूपमा व्याख्या गर्दै मानिसहरूले नियन्त्रणका लागि पुल्ठो बाल्ने, पटाका पड्काउने, सुरुङ खन्ने, हात्तीबार लगाउने, दलबलका साथ गस्ती गर्ने लगायतका सबै उपाय गरेकै हो,” उनी भन्छन्, “हामीले अपनाएका उपायहरूमध्ये विद्युतीय तरबार र सहअस्तित्वका लागि हात्तीमैत्री नीति सबैभन्दा प्रभावकारी साबित भएका छन्।”

प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमका अनुसार झापाको बाहुनडाँगीमा एक दशकअघि नै १८ किलोमिटर विद्युतीय घेराबेरा गरिएको छ। जसका कारण भारतबाट हात्ती आउन अधिकतम मात्रामा रोकिएको दाबी छ। हाल बाहुनडाँगी, जलथल र चारआली जंगलको वरिपरि ७६ किलोमिटर लामो विद्युतीय तरबार सम्पन्न भइसकेको छ। यसमा राज्यले १२ करोड रुपैयाँभन्दा बढी नै लगानी गरिसकेको छ। जंगली हात्तीको आक्रमणबाट मानव बस्ती जोगाउने सबैभन्दा भरपर्दो उपायको रूपमा विद्युतीय घेराबेरा मानिएको उल्लेख गर्दै उनले झापामा जंगल क्षेत्र धेरै भएको कारण घेराबेरालाई क्रमिक रूपमा विस्तार गर्दै लैजान आवश्यक रहेको बताए।  

हात्तीसँगको तीन दशक लामो द्वन्द्वमा मानिसले हात्तीलाई मारेर होइन, मैत्रीपूर्ण व्यवहार गरेर क्षति रोक्न सकिन्छ भन्ने पाठ सिकेको छ‍। पहिले मानिसहरू हात्तीलाई मारेर समस्याको समाधान हुन्छ भन्ने सोच राख्दथे। तर, अहिले जंगलमै रहनका लागि आहारको व्यवस्था गर्न हात्तीलाई मनपर्ने बोटबिरुवा लगाउन समुदाय नै जुट्न थालेका छन्। 

कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ‘जसको जंगल उसकै मंगल’ भन्ने नारासहित सात महिनाअघि झापाको बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीमैत्री पैदलयात्रा गरेका थिए। उनले हात्ती हिँड्ने क्षेत्रलाई करिडोरको रूपमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने नयाँ अवधारणा अघि सारेका थिए। 

हात्तीलाई जंगलमा आहार जुटाउन अर्जुनधाराको खुदुनाबारीस्थित जुकेखाँडी सामुदायिक वनले २० हजार फलफूलका बिरुवा हालै जंगलमा रोपेको छ। स्थानीय समुदायसमेत हात्तीमैत्री उपायहरू अवलम्बन गर्दै मानव-हात्ती द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा सहमत हुन थालेका छन्। 

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल हात्तीमैत्री कार्यक्रमका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने माग गर्छन्। हात्तीको नजिक गएर नजिस्काएसम्म उसले कहिल्यै आक्रमण नगर्ने जनाउँदै उनले आहारको खोजीमा बाध्य भएर जंगली जनावरहरू मानव बस्तीमा पस्ने गरेको बताए।

नेपालको सबैभन्दा बढी हात्तीपीडित क्षेत्रको रूपमा बाहुनडाँगीको चर्चा हुन थालेको चार दशक भइसक्यो। सडकदेखि सदनसम्म बाहुनडाँगीबासीलाई कसरी हात्तीको आक्रमणबाट जोगाउने भनेर उपाय खोजिन्छ। मानव–हात्ती द्वन्द्वका कारण सबैभन्दा बढी मानवीय क्षति बेहोरेको बाहुनडाँगीले अब हात्तीलाई माया गर्न थालेको छ। जसका कारण मानव र हात्ती दुवै सहअस्तित्वमा रम्ने वातावरण बनेको छ।