गठ्ठाघर दुर्घटनाको छानबिन गर्न समिति गठन

भक्तपुरको गठ्ठाघरमा बिहीबार एक जनाको ज्यान जाने गरी भएको दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।

भक्तपुर– भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार छानबिन समिति गठन गरेको छ।

बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा चिशंखुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो। 

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वको बैठकले सरोकारवालासँग छलफल गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिको सदस्यमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी नायब उपरीक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारीचालक अनुमति पत्र राधेराधे कार्यालयका उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट मृतकका आफन्त पर्ने तुलसीहरि कोइराला छन्। 

यसअघि शुक्रबार गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न प्रहरीले पनि छानबिन समिति गठन गरिसकेको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनाएर शुक्रबारदेखि काम शुरू गरेको प्रहरीले जानकारी दिएको छ।