स्टेडियम ९७४ मा सोमबार दक्षिण कोरियाविरुद्ध जित निकाल्दै ब्राजिल कीर्तिमानी छैटौँ विश्वकपको उपाधि होड कायम राख्न चाहन्छ। काेरिया भने ब्राजिललाई राेक्ने लक्ष्यमा छ।
काठमाडाैँ– दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले सुपरस्टार फरवार्ड नेयमार जुनिअर बिना नै कतार विश्वकप अन्तर्गत समूह चरणका दुई खेल समाप्त गर्यो। सर्बियाविरुद्धको पहिलो खेलमा नेयमार घाइते भएका थिए।
उक्त खेल ब्राजिलले २-० ले जितेको थियो। त्यसपछि उनले स्वीट्जरल्यान्ड र क्यामरुनविरुद्धको खेल गुमाए। तर, पाँच पटकको विश्वविजेता ब्राजिल प्रि-क्वार्टरफाइनल अन्तर्गत् एसियाली राष्ट्र दक्षिण कोरियाविरुद्ध मुख्य आक्रमणकर्ता नेयमार फर्किने अपेक्षा गरिएको छ।
स्टेडियम ९७४ मा सोमबार दक्षिण कोरियासँग भिड्दै ब्राजिलले कीर्तिमानी छैटौँ विश्वकपको उपाधि जित्ने होडमा आफूलाई कायम राख्ने लक्ष्य बनाएको छ। “नेयमार अहिले खुट्टाको चोटबाट निको भइसकेका छन् र पुनरागमनका लागि प्रशिक्षण गरिरहेका छन्। राम्रो गरे भने उनलाई टोलीमा राखिनेछ”, आइतबारको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक टिटेले भने।
नेयमारको दाहिने खुट्टामा लामो समयदेखि समस्या छ। चार वर्षअघि उनको सोही खुट्टाको शल्यक्रिया गरिएको थियो। मुख्य खेलाडी नेयमार घाइते भएर मैदानमा उत्रिन नसकेको अवस्थामा ब्राजिलका थप ४ खेलाडी पनि घाइते भएका छन्। उनीसँगै राइट ब्याक ड्यानिलो, फरवार्ड ग्राबियल जिसस, डिफेन्डर एलेक्स टेसाल र एलेक्स सान्द्रो पनि घाइते छन्। ड्यानिलो नेयमार खेलेकै खेलमा घाइते भएका हुन् भने सान्द्रो स्वीट्जरल्यान्डविरुद्धको खेलमा।
जिसस र टेसाल भने समूह चरणको अन्तिम खेलमा क्यामरुनविरुद्ध मैदान उत्रिँदा घाइते भएका थिए। जिसस र टेसाल दुवैले कतार विश्वकपका आगामी खेल गुमाउने बताइएको छ। यता, सान्द्रो पनि फिट भइसकेका छैनन्। दक्षिण कोरियाविरुद्ध ब्राजिल उत्रिँदा सबैको नजर नेयमारको फिटनेसको चर्चा र लाइनअपमा हुनेछ।
उनी आइतबार प्रशिक्षणमा पनि सहभागी भएका थिए। तर, उनले धेरै बेर प्रशिक्षण गर्न भने सकेनन्। दक्षिण कोरियाविरुद्ध ब्राजिलको गर्व गर्न लायक इतिहास छ। यी दुई टोली ७ पटक मैत्रीपूर्ण खेलमा आमुन्नेसामुन्ने भइसकेका छन्। दक्षिण कोरियाले सन् १९९९ को मैत्रीपूर्ण खेलमा ब्राजिललाई १-० ले पराजित गरेको थियो। बाँकी ६ खेलमा भने ब्राजिलले दबदबा कायम गरेको छ।
यी ७ भेटमा ब्राजिलले १६ गोल गरेको छ भने कोरियाले ६ गोल। पछिल्लो पटक सन् २०२२ मा आयोजना भएको मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ब्राजिलले ५-१ गोल अन्तरको फराकिलो जित निकालेको थियो। तर, विश्वकपमा यी दुई देश भिड्न लागेको यो पहिलो पटक हो। दक्षिण कोरिया यस पटक पनि समूह चरणकै जस्तै अनपेक्षित नतिजा निकाल्ने लक्ष्यमा हुनेछ।
समूह ‘एच’ पार गरेको दक्षिण कोरियाले पहिलो खेलमा दुई पटकको विश्व विजेता उरुग्वेलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो। दोस्रो खेलमा अफ्रिकी राष्ट्र घानासँग ३-२ गोल अन्तरले पराजित भएको दक्षिण कोरियाले अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगलमाथि २-१ गोलको जित निकाल्यो। त्यो पनि बराबरीतर्फ ढल्किएको खेलको ९१औँ मिनेटमा गोल गर्दै।
अन्तिम १६ मा स्थान बनाउँदै गर्दा दक्षिण कोरियाले समान अंक जोडेको उरुग्वेलाई पछाडि पारेको थियो। दक्षिण कोरियाले अन्तिम खेलमा २ गोल गर्दै समूह चरणको ३ खेलमा ४ गोल पुर्यायो। यता, उरुग्वेले भने समान खेलमा २ गोल मात्रै गर्न सक्यो र विश्वकपबाट बाहिरियो। माथिको नतिजा नै प्रस्ट पार्छ, एसियाली टोलीले आफ्नो समूह चरण कसरी नाटकीय रूपमा पार गर्यो भनेर। तर, विश्वकपको नकआउट चरणमा यस्तो अपसेट देख्न विरलै देख्न पाइन्छ।
त्यसैले होला पोर्चुगिच मूलका दक्षिण कोरियाका मुख्य प्रशिक्षक पाउलो बेन्टोले ब्राजिलविरुद्ध गुमाउनु केही नरहेको बताइसकेका छन्।
ब्राजिलसँगको खेलअघि आयोजना भएको पत्रकार सम्मेलनमा उनले दक्षिण कोरियाको यात्रा नकआउट चरणसम्मको रहेको संकेत गरिसकेका छन्। “ब्राजिलविरुद्ध गुमाउनुपर्ने केही छैन। ब्राजिलले यस प्रतियोगिताको मुख्य दाबेदार हो”, उनले भनेका छन्। ब्राजिलविरुद्ध मैदान उत्रिँदा दक्षिण कोरियालाई कुनै फिटनेसको चिन्ता हुने छैन।
अनुहारमा चोट लागेका मुख्य फरवार्ड सन ह्युङ–मिन रिकभर भइसकेका छन्। यता, खुट्टाको चोटले पोर्चुगलविरुद्धको खेल गुमाएका डिफेन्डर किम मिन-जे पनि पुनरागमनको तयारीमा छन्। सबै ठिक रहे दक्षिण कोरियाले ब्राजिलविरुद्ध मैदान उत्रिँदा रक्षात्मक हुँदै काउन्टरलाई प्राथमिकता दिनेछ। पछिल्ला खेलहरूमा जिन-सु किम र सनले पाएका अवसरमा राम्रो संयोजन गर्दै काउन्टर अट्याक सिर्जना गर्दै आएका छन्।
दक्षिण कोरियाको टोलीले समूह चरणका ३ खेलमा पनि यही रणनीतिलाई अवलम्बन गरेको थियो। उरुग्वेविरुद्धको खेलमा दक्षिण कोरियाको बलियो डिफेन्सले डार्विन नुनेज, लुइस सुआरेज र फाकुन्डो पेलिस्ट्री जस्ता आक्रामक र अनुभवी खेलाडीलाई गोल गर्ने कुनै मौका दिएनन्। १० पटक सट प्रहार गरेको उरुग्वेले उक्त खेलमा १ सट मात्रै टार्गेटमा राख्न सकेको थियो।
यता, पोर्चुगलविरुद्धको खेलमा पनि उही रणनीति चाल्दै एक गोल मात्र गर्न दिएको थियो। यद्यपि, जितको दबाबमा रहेको दक्षिण कोरियाले घानाविरुद्धको खेलमा भने केही सामान्य गल्ती गर्दै ३-२ को पराजय भोग्न परेको थियो। ब्राजिलले भने आफ्नो आक्रमणलाई दायाँपट्टिबाट केन्द्रित गर्नेछ। नेयमारले खेल्ने सम्भावना देखिन्छ। तर, उनी मैदान नउत्रिए पनि ब्राजिललाई खासै समस्या पर्ने छैन। ब्राजिलका लागि दायाँबाट खेल्न फरवार्ड राफिन्हो उपयुक्त विकल्प हुन्।
यदि रणनीति अनुसार नै राफिन्होले बल होल्ड गरेर खेले किम र सन ब्याक साइड बलियो बनाउन मैदानको बिच भागबाट तल ओर्लने छन्। तर, डिफेन्डर टेसालको अनुपस्थितिले ब्राजिलको रक्षात्मक लाइनलाई असर गर्नेछ। फुल ब्याक ड्यानिलो र सान्ड्रो दक्षिण कोरियाविरुद्ध उत्रिन्छन् या उत्रिँदैनन् अझै स्पष्ट छैन।
दुवै जना सोमबारको खेलमा मैदान उत्रिएनन् भने सेन्टर ब्याक मार्किन्होलाई बायाँ र ३९ वर्षीय ड्यानी अल्भेसलाई दायाँतर्फ राख्न सकिन्छ। यदि प्रशिक्षक टिटेले स्वीट्जरल्यान्डसँगको खेलमा जस्तै एडर मिलिटोलाई फुल ब्याकमा राखे भने ब्राजिललाई कुनै समस्या हुने छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
