सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलोमा गएको पहिरोले सडक अवरुद्ध भएको हो। करिब ५० मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

फाइल तस्वीर।

काभ्रेपलान्चोक– सुक्खा पहिरो जाँदा शनिबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ।

राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलोमा गएको पहिरोले सडक अवरुद्ध भएको हो।

उक्त सडकखण्डमा पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका छन्। साना सवारीलाई भने वैकल्पिक सडकबाट पठाइएको छ। सुरक्षाकर्मीको टोली खटाई स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भइरहेको डीएसपी श्रेष्ठले बताए।

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो।