धार्मिक सद्भाव र आस्थाको केन्द्र गोसाईंकुण्ड

समुन्द्र सतहबाट करिब ४ हजार ३८० मिटर उचाइमा अवस्थित गोसाईंकुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्ने गर्छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– गोसाईंकुण्ड रसुवा जिल्लामा रहेको चर्चित धार्मिक पर्यटकीय गन्तव्य हो। धार्मिक पर्यटनको आकर्षक गन्तव्य पनि मानिन्छ गोसाईंकुण्ड क्षेत्र। गोसाईंकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ। 

समुन्द्र सतहबाट करिब ४,३८० मिटर उचाइमा अवस्थित कुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्ने गर्छ। यस वर्ष भदौ तीन गते परेको जैनपूर्णिमाका लागि श्रद्धालु त्यसतर्फ जाने क्रममा छन्। 

काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट श्रद्धालुहरू गोसाईंकुण्ड जने गर्छन्। अरू बेलाभन्दा जनै पूर्णिमामा कुण्डमा स्नान गर्ने, भगवान् शिवको पूजा आराधना गर्ने श्रद्धालुको बाक्लो उपस्थिति रहने गर्छ। 

गोसाईंकुण्डसित पौराणिक साइनो छ। स्कन्दपुराण, हिमवत्खण्डमा यस कुण्डको वर्णन गरिएको छ। पुराण अनुसार यो कुण्डको उत्पत्ति महादेवबाट भएको हो। गोसाईंकुण्डनजिकै भैरवकुण्ड र सरस्वतीकुण्ड छ। सूर्यकुण्डचाहिँ गोसाईंकुण्डबाट झन्डै डेढ घण्टा पर छ। सेरोफेरोमा नजिक र टाढा गरी साना, ठूला १०८ जति कुण्ड छन्।

गोसाईंकुण्ड धार्मिक सद्भावको केन्द्र पनि हो। हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गोसाईंकुण्ड धामी–झाँक्रीका लागि सिद्धि प्राप्तिको थलो बनेको छ। यसलाई बोधिसत्त्व अवलोकितेश्वरका रूपमा पनि पुजिन्छ।

त्रिशूली नदीको उद्गम स्थल त्रिशूल धारा, १०८ वटा कुण्ड, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, विभिन्न गुम्बा, विभिन्न वन्यजन्तु, चराचुरुंगी तथा जडीबुटी आदि आकर्षणका रूपमा रहेका छन्।   

काठमाडौँबाट गोसाईंकुण्ड जाने विभिन्न बाटो रहेका छन्। धुन्चे हुँदै पैदल यात्राबाट पुग्न सकिन्छ। सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदल यात्रा पनि निकै आकर्षक रहेको छ। नुवाकोटको घ्याङफेदी तालु कसेरी हुँदै पनि जान सकिन्छ। मालाभञ्याङ, सागरकुण्ड र राउचुलीको पदयात्राबाट गोसाईंकुण्ड पुग्न सकिन्छ।