हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि

हेलिकप्टरबाट निरीक्षण गर्दा गाउँभन्दा माथि खुम्बु क्षेत्रमा रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको हो। 

काठमाडौँ– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिका दुई वटा हिमताल फुटेर शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ। 

शनिबार बिहान रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीले हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका दुई वटा हिमताल फुटेर बाढी आएको देखिएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ। गाउँभन्दा माथि रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको हो। 

सोलुखुम्बुबाट निर्वाचित मन्त्री राई शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेललाई लिएर निरीक्षणका लागि खुम्बु क्षेत्र पुगेका थिए।

बाढीले थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखिएको छ। ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ। 

बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ। फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।