गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ–स्टे’

गर्पाछेडामा पुग्ने पाहुनाहरूका लागि ‘गोठ–स्टे’ सञ्चालन गरिएको छ। होटल र होम–स्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठ–स्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरूलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ।

म्याग्दी– पहाडको टुप्पोमा भिरालो पाखा। जता हेरे पनि कार्पेट बिछ्याएझैँ देखिने हरियाली। पाखामा फुलेका रंगी बिरंगी फूल। तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट। वरपर देखिने थुम्का, थुम्की। 

चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्रा र घोडाका बथान। गाईबस्तुको घाँटीमा झुन्डिएका घाडो (घण्टी)को एकनासको आवाज। शीतल हावापानी। एकान्त वातावरण। छिनछिनमा फेरिरहने मौसम। घाम, पानी र बादलको लुकामारी। 

सूर्योदय, सूर्यास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्नेदेखि मनासलु सम्मका हिमालको मनमोहक दृश्य। बादल हट्दा देखिने निलो आकाश। समुद्री सतहदेखि चार हजार १० मिटरको उचाइमा रहेको पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मिहिनेत गरेर बनाएको क्यानभास अवलोकन गरेझैँ आभास हुन्छ। 

काठमाडौँका आशिष सिलवालले गर्पाछेडामा रहेका गोठालाको जीवनशैली नियाल्दै प्रकृतिको सुन्दरतामा तीन दिन बिताए। “लोप हुँदै गएको घुम्ती गोठ र पशुपालन गर्ने परम्परागत चलनको अध्ययन गर्ने अवसर पाइयो,” उनले भने, “जता फर्केर हेरे पनि देखिने मनमोहक दृश्यले समय बितेको पत्तै भएन।”

यहाँबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, नीलगिरी, माछापुच्छ्रे, मनासलु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। ढोरपाटन सिकार आरक्षको पहाडी भूगोलको मनमोहक दृश्यका साथै बुकीको चरनमा रमाइरहेका भेडा, बाख्रा, घोडा, गाईभैँसीका बथान थप आकर्षण हुन्। 

शान्त वातावरण र चिसो हावापानीमा रमाउन पाइने गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट आएका रमेश क्षेत्रीले बताए। बादल, घाम र पानीको लुकामारीसँगै पाखाभरी रंगीबिरंगी फुलेका बुकीमा रमाउन पाउँदा उमंगको अनुभूति हुने उनले सुनाए।

ढोरपाटनको पाखाथरदेखि तीन घण्टा उकालो हिँडेपछि पुगिने गर्पाछेडा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको सदरमुकाम जाने परम्परागत पैदलमार्गमा पर्दछ। किसानहरूले बर्खायाममा पोसिलो घाँस खुवाउन गर्पाछेडा, टिकाडाडा, रासबन, दहखर्कमा घरपालुवा पशुचौपायाको गोठ लगेका छन्। 

पाहुनाका लागि ‘गोठ–स्टे’
गर्पाछेडामा पुग्ने पाहुनाहरूका लागि ‘गोठ–स्टे’ सञ्चालन गरिएको छ। होटल र होम–स्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठ–स्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरूलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ। ‘ब्लु सिप गोठ–स्टे’का सञ्चालक सन्देश थापाले पाहुनाहरूलाई घुम्ती टहरा र गोठमा खाजा, खाना खुवाउने र बास बस्ने व्यवस्था मिलाइएको बताए। 

“नाउर र झारलको बथान अवलोकन गर्न सकिने भएकाले गर्पाछेडाको ‘गोठ–स्टे’लाई ब्लु सिप नामकरण गरिएको हो,” उनले भने, “जंगली जनावर, पक्षी, पहाडी भूगोल, वनजंगल, हिमाल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यका साथै गोठालाहरूको जीवनशैली र दैनिकी अवलोकन गर्न पाउने यहाँको आकर्षण हो।”

गाईभैँसीको दूध, दही, मोही, घ्यु, भेडा, बाख्राको मासु, निगालोको टुसा, रातो च्याउको तरकारी, ढिँडो, आटो पकाएर पाहुनालाई खुवाउने गरेको थापाले बताए। छुट्टै बस्नेहरूका लागि टेन्ट पनि राखिएको छ‍। बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठ–स्टे सञ्चालन हुन्छ। 

चिसो बढेपछि गोठ बेसीतर्फ झर्छन्। प्रतिव्यक्ति दुई हजार रुपैयाँमा दुई छाक खाना, दुई छाक खाजा र सुत्न पाइन्छ। शुक्रबार, शनिबार र बिदाका दिन १४/१५ जनासम्म पाहुना आउने गोठ–स्टे अन्य दिन पनि खाली हुँदैन। गोठ–स्टेमा २० जनाको क्षमताको रहेको बताए। 

ढोरपाटन पर्यटन विकास संस्थाका सचिव जीवनकुमार पुनले गर्पाछेडामा खानेपानी, सार्वजनिक शौचालय र सञ्चार सुविधाका लागि स्थानीय तह, सिकार आरक्ष र प्रदेश सरकारसँग पहल गरिएको बताए। ढोरपाटन आउने पर्यटकको बसाई लम्बाउने गर्पाछेडा, किटिनी डाडा, जलजलालाई नयाँ गन्तव्यको रूपमा विकास गरेको उनले बताए।