इजरायली आक्रमणबाट गाजामा एकै परिवारका १५ सदस्यको मृत्यु

इजरायली हवाई आक्रमणबाट नौ बालबालिकासहित एकै परिवारका १५ सदस्यको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले बताएको छ।

गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणबाट नौ बालबालिका र तीन महिलासहित एक प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ। 

मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए। इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन। 

“अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ,” बस्सलले भने।

उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दै गर्दा अहमद अबु अल–घौलले भने, “तीन वटा रकेटहरू सिधै घरमा खसेका थिए। भित्र बालबालिका र महिला थिए। उनीहरूको के दोष थियो?”

इजरायल र हमासबीच १० महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्धले गाजाको विशाल भूभाग भग्नावशेषमा परिणत हुँदै छ।