थामे बाढीबाट विस्थापितलाई ५० हजारका दरले राहत वितरण

खुम्बु पासाङल्हामु गाउँपालिकाले थामे खोलामा आएको बाढीले घरबास बगाएर विस्थापित भएकाहरूलाई ५० हजार रुपैयाँका दरले राहत वितरण गरेको जनाएको छ।

काठमाडौँ– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले बाढीका कारण घरबास पूर्णरूपमा क्षति भई विस्थापित भएकाहरूलाई ५० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ। शुक्रबार खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा अचानक बाढी आउँदा थामे गाउँका १५ परिवारको घरबास बस्न नमिल्ने गरी ३० परिवारको बासस्थानमा आंशिक क्षति पुगेको थियो।

विस्थापित भएका १५ परिवारलाई तत्काल बसोबासको व्यवस्थापनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ र आंशिक क्षति भएका ३० घरपरिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

गृह मन्त्रालयले पनि तत्काल बसोबासको व्यवस्थापनका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ उपलब्ध गराएको छ। बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनः निर्माणका लागि आवश्यक पहल गरिने गाउँपालिकाको भनाइ छ।

यसअघि संघ, प्रदेश, स्थानीय तह र प्रशासनका प्रतिनिधिले बाढीबाट क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै पीडितहरूसँग भेटघाट गरेको थियो।

थामे खोलामा शुक्रबार लेदोसहितको बाढी आउँदा आसपास रहेका घरका साथै विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको थियो। बाढीबाट प्रभावित ९३ जनालाई नजिकका सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेको भनाइ छ।

मन्त्री राई नेतृत्वको टोलीले हेलिकप्टरबाट निरीक्षण गर्दा थामे गाउँभन्दा माथि रहेका दुई वटा हिमताल फुटेर अचानक बाढी आएको देखिएको गाउँपालिकाले जनाएको छ। गाउँभन्दा माथि पाँच वटा हिमताल रहेका र तीमध्ये दुई वटा फुटेर बाढी आएको अनुगमनका क्रममा देखिएको गाउँपालिकाले उल्लेख गरेको छ।