ठेकेदार भागेपछि ढोरपाटन जाने सडकको बिजोग, पर्यटकलाई सास्ती

रुपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएको सडक एक दशक अगाडि ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा यात्राका लागि जोखिमयुक्त भएको छ।

ढोरपाटन– हरेक वर्ष जनै पूर्णिमामा ढोरपाटन सिकार आरक्षमा धार्मिक मेला लाग्छ। यस वर्ष पनि मेला सुरु भएको छ। देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन्। 

एक दशक अगाडिसम्म बुर्तिबाङ बजारदेखि भक्तजन हिँडेरै ढोरपाटन पुग्ने गर्थे भने अहिले सडक पुगेको छ। २०७१ सालमा ढोरपाटन सडकले जोडिएपछि अहिले धेरै जसो मानिस गाडीमै जाने गर्छन्। ढोरपाटन जोडिएको सडक राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन सडक’ पर्छ। रुपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएको यो सडक एक दशक अगाडि ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा यात्राका लागि जोखिमयुक्त भएको छ।

बागलुङको बुर्तिबाङदेखि ढोरपाटन उपत्यकासम्मको करिब ३२ किलोमिटर सडकको अवस्था झनै खराब बनेको छ। जनै पूर्णिमाका बेला दसौँ हजार भक्तजन पुग्ने हुँदा सवारीसाधनको पनि चाप निकै हुन्छ। ढोरपाटन आउने भक्तजन सडकका कारण सास्ती खेप्न बाध्य छन्। सडकको दुरावस्थाको कारण कयौँको गाडी बीच सडकमै बिग्रिने हुँदा ढोरपाटन पुग्न समस्या हुने गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए। 

सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा करिब ६१ किलोमिटर सडक पर्छ। त्यसमध्ये अहिलेसम्म कुनै पनि स्थानमा स्तरोन्नति हुन सकेको छैन। तीन वर्ष अगाडि बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का लगाए पनि निर्माण कम्पनीले काम नगर्दा सडकको दुरावस्था छ। 

मेलामा आउने भक्तजन र पर्यटकलाई लक्षित गरी ढोरपाटन नगरपालिकाले दुई दिनदेखि मेसिन र मजदुर लगाएर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ। चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीले सडकको धेरै स्थानमा क्षति पुर्‍याएको छ। ती स्थानमा अहिले सामान्य मर्मत गरेर सकसपूर्ण रूपमा सवारीसाधन ओहोरदोहोर गर्छन्।

“यो सडक संघीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने रैछ, बन्द हुँदा खुलाउने काम भने गर्दै आएका छौँ,” उनले भने, “निर्माण कम्पनीले काम पोहोर सक्नु पर्ने हो तर कत्ति पनि काम गर्न सकेको छैन, यसले पर्यटकलाई सास्ती बनाएको छ।”

सडकको धेरै ठाउँमा खाल्डाखुल्डी र बीचमा ठूला–ठूला ढुंगा हुँदा गाडी बिग्रिएर पर्यटक बाटोमा अलपत्र पर्ने गरेका छन्। बिग्रिएको गाडी बनाउनका लागि नजिकमा ग्यारेजसमेत नहुँदा पर्यटक निराश बनेर फर्किने गरेको ढोरपाटन नगरपालिका–९ का स्थानीय गुनबहादुर विकले बताए। यति बेला धेरै भक्तजन पैदल यात्रा गरेरै ढोरपाटन जाने गरेको उनको भनाइ छ। 

“धेरै वर्ष भयो यो बाटो बिग्रिएको, अहिलेसम्म मर्मत भएको छैन, हिउँदमा यस्तैमा पनि गाडी चल्छन्,” उनले भने, “ढोरपाटन धेरै सुन्दर छ, त्यही देखेर मान्छे घुम्न आउँछन् तर बाटो देखेर निराश हुन्छन्। बाटोमा राम्रो होटल पनि छैनन्, गाडी बिग्रिएर रोकिए भने बास पाउन पनि गाह्रो हुन्छ।”

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकको बागलुङखण्ड २०७१ सालमा ट्रयाक खुलेको थियो। बडिगाडको गंगरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्छ। सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ। बडिगाड गाउँपालिका–१० गंगरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि तीन वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो।