नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार १.१४ प्रतिशतले घटेर नेप्से परिसूचक २९६६.३३ को विन्दुमा कायम भएको छ भने २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

आइतबार ३४.४७ अंक अर्थात् १.१४ प्रतिशतले करेक्सन भएर नेप्से परिसूचक २९६६.३३ को विन्दुमा कायम भएको छ। यस दिन बैंक, जीवन बीमा, निर्जीवन बीमा, म्युचुअल फन्डबाहेकका सबै उपसूचक घटेका छन्। सर्वाधिक होटल तथा पर्यटनको सूचक ४.४९ प्रतिशतले घटेको छ।

आइतबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा १९७ वटाको घटेको छ भने ४७ वटाको मात्रै बढेको छ। ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर तीन लाख ९१८ पटक किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँ बराबरको कारोबार भयो।

यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबार झन्डै ३० अर्बको शेयर कारोबार भएको थियो। बिहीबार कुल ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँमा कारोबार भएको थियो।

नेप्सेका अनुसार राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पोज फाइनान्स कम्पनी, सम्पदा लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, लिभर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाएका छन्।

यस्तै, नेपाल फाइनान्स १०, सगरमाथा जलविद्युत् ८.५२, न्यादी हाइड्रोपावर ८.४६, शुभम् पावर ७.७४, मातृभूमि लघुवित्तका लगानीकर्ताले ७.५८ प्रतिशतले गुमाएका छन्। सर्वाधिक शेयर कारोबार हुने कम्पनीहरूमा क्रमशः हिमालयन रिइन्स्योरेन्स, अपि पावर कम्पनी, कुमारी बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभ्लप्मेन्ट कम्पनी रहेका छन्।