शहरी क्षेत्रका घर तथा कार्यालयमा रंगीन माछाका अक्वारियम प्रशस्तै देखिन्छ। यस्ता माछा पाल्ने सोख पूरा गर्दा मानसिक तनाव पनि हट्ने मनोविद्हरू बताउँछन्। अक्वारियममा कस्ता माछा पाल्ने, कति मूल्य पर्छ?
काठमाडौँ– शहरी क्षेत्रका बासिन्दाका सोख अनेक छन्। त्यसमा पनि जनावर र चराचुरुङ्गी पाल्ने सोख भएका धेरै छन्। कोही कुकुर, बिरालो पाल्छन् त कसैले परेवा पाल्छन्। कतिपयले बाँदरलगायत जनावर र सुगालगायत चरा पालेको पनि देखिन्छ।
शहरका बासिन्दाले घरभित्रै रंगीविरंगीका माछा पनि पाल्ने गरेका छन्। काठमाडौँ चावहिल बस्ने हिना विश्वकर्माले तीन वर्षदेखि कोठामै माछा पालिरहेकी छन्। उनले गोल्ड फिसदेखि महँगो मूल्यको एरोवाना जातको माछासम्म पाल्दै आएकी छन्। उनी माछाका थप नयाँ प्रजाति खोज्दै गर्दा टंगालस्थित द रोयल अक्वा पेटमा भेटिइन्। उनी प्लेको (स्वीपर) जातको माछा खोजिरहेकी थिइन्।
माछा पाल्ने आफ्नो सोख अहिले लतमा परिणत भएको उनी बताउँछिन्। पढाइको सिलसिलामा राजधानी आएकी उनी कोठा भाडामा लिएर एक्लै बस्छिन्। पढाइसँगै कामसमेत गर्ने हुँदा अधिकांश समय कोठाबाहिरै हुन्छिन्। दिनभरको थकान र नकरात्मक सोचाइ मेट्न साँझको सारथीका रूपमा उनले माछा पालेकी हुन्।
साथीहरू बनाएर घुलमिल हुन त्यति नसक्ने उनी आफूलाई मान्छेभन्दा पशुपन्छीप्रति बढी लगाव भएको बताउँछिन्। तर व्यस्त जीवनशैलीका कारण उनका लागि कुकुर, बिरालोजस्ता जनावर पाल्न सम्भव छैन। त्यसैले उनले माछा पाल्ने सोच बनाइन् र पहिला एक जोडी गोल्ड फिस ल्याइन्।
अहिले उनले २० जोडा माछा पालिरहेकी छन्। “बिहान र बेलुकाको समय म माछासँग खेल्छु। आफूलाई असहज हुँदा होस् या खुशी हुँदा सधैँ माछासँगै शेयर गर्छु अनि मन हलुका हुन्छ। पहिले एक्लो लाग्थ्यो, अहिले कोठामा पनि कोही साथी छ जस्तो लाग्छ,” उनी भन्छिन्।
शुरूमा पसलेको सल्लाहमा माछा ल्याएर पाल्न थालेकी उनले अहिले धेरै ज्ञान बटुलिसकेकी छन्। धेरै समय दिनु नपर्ने हुँदा सहजै पाल्न सकिने उनको अनुभव छ।

घरभित्र पाल्नका लागि बजारमा विभिन्न रङ र प्रजातिका माछा पाइन्छन्। यी माछाको मूल्य पनि फरक–फरक छ। यी माछा घर वा कार्यालयको कोठामा राख्न सकिन्छ। माछा पाल्न थालेपछि यसलाई तनाव बिर्साउन पनि सहयोग पुगेको हिना बताउँछिन्।
मनोविद् गोपाल ढकालका अनुसार घरभित्र माछा पाल्दा त्यसमा भुलिने कारण मानसिक तनाव कम गराउने राम्रो उपाय हुन्छ। माछाहरु चञ्चल र सक्रिय स्वभावका हुने भएकाले रंगीविरंगी माछा चलिरहेको नियाल्दा आनन्द दिने र तनावमुक्त गर्न भूमिका खेल्ने उनको भनाइ छ। त्यही कारण कतिपय मानसिक स्वास्थ्य समस्या हुनेलाई माछा पाल्न सुझाव दिइने उनको भनाइ छ।
माछा पाल्नेहरू तिनीहरूसँग बोल्ने, खेल्ने, रमाउने गर्छन्। आफ्ना दुःख माछालाई सुनाएर हलुका महसुस गर्छन्। “सोखको काम गर्दा खुशी त मिल्छ नै निर्दाेश प्राणीसँग रहँदा तनाव पनि कम हुन्छ। घरमा जनावर वा माछा पाल्दा मानिसलाई पनि सधैँ सक्रिय रहन प्रेरणा मिल्छ,” ढकाल भन्छन्।
घरमा पाल्नका लागि बजारमा ३०० भन्दा बढी प्रजातिका माछा पाइन्छन्। माछाको प्रजातिअनुसार फरक विशेषताका हुने कुपण्डोलस्थित एवान एक्युरियम सपका सञ्चालक रामप्रसाद पौडेल बताउँछन्। माछासँग खेल्दा तानव बिर्साउन सघाउने हुँदा शहरी क्षेत्रमा घरभित्र अन्वारियम बनाउने चलन बढेको उनको भनाइ छ।
माछालाई बासस्थानअनुसार ‘फ्रेस वाटर फिस’ र ‘मरिन फिस’ गरी दुई समूहमा बाँडिन्छ। फ्रेस वाटर फिस नदी, खोला, पोखरी, तालतलाउमा रहने गर्छन्। मरिन फिस प्रायः समुद्रमा बस्छन्। यी माछा पानीको गहिराइ मन पराउँछन्। घरमा पालिने धेरैजसो फ्रेस वाटर फिस समूहका भएको पौडेलको भनाइ छ।
यो समूहमा संसारभर १४ देखि १५ हजार प्रजातिका माछा छन्। यो संख्या विश्वभरका माछामध्ये ४० प्रतिशत हो। त्यस्तै समुद्री माछा १८ देखि २० हजार प्रजातिका रहेको गिना सान्डफोर्डले लेखेको पुस्तक ‘एन इलुस्ट्रेटेड इन्साइक्लोपेडिया अफ अक्वारियम फिस’मा उल्लेख छ।
नेपालमा घरभित्र पालिने माछा गोल्ड फिस, ट्रपिकल फिस र एग्रेसिभ फिस गरी तीन वर्गका बढी प्रचलनमा छन्।
गोल्ड फिसः हेर्दा आकर्षक र अरूभन्दा सस्तो भएकाले यो बढी बिक्री हुने व्यवसायी पौडेल बताउँछन्। गोल्ड फिस परिवारभित्र पनि धेरै प्रकारका माछा छन्। यी माछा बलियो हुन्छन्। नेपालको हावापानीमा सजिलै घुलमिल हुनसक्ने भएकाले पाल्न सजिलो हुन्छ। यसमा रेड, गोल्ड, रेड क्याप, सुभानिकिङ, कोई, कमेट गोल्डलगायत माछा पर्छन्। गोल्ड फिसको मूल्य प्रतिजोडी १०० देखि ५ हजारसम्म पर्छ।
ट्रपिकल फिसः नेपालमा पाइने ट्रपिकल फिस अरूभन्दा आकारमा सानो हुन्छन्। यी विभिन्न रङमा आकर्षित शारीरिक बनावटका हुन्छन्। अहिले गोल्ड फिसपछि ग्राहकको रोजाइमा ट्रपिकल फिस पर्ने व्यवसायी पौडेल बताउँछन्। आकर्षक हुनुका साथै मूल्यसमेत कम भएकाले ग्राहकको रोजाइ भएको उनको भनाइ छ। ट्रपिकल फिसभित्र जेब्रा, सोटेल, मोली, गप्पी, एन्जल फिसलगायत पर्छन्। नेपालमा यी माछाको मूल्य प्रतिजोडी ५० देखि ५०० रुपैयाँसम्म पर्छ।
एग्रेसिभ फिसः यस समूहका माछा आकारमा अरूभन्दा केही ठूला हुन्छन्। यी माछा आक्रामक हुनाले कुनै आफ्नै जातमा मिलेर रहन सक्दैनन्। केहीले अरू जातका माछालाई पनि हानि पुर्याउँछन्। मिडास सिक्लिड, पिकक बासलगायत माछाले आफ्नै प्रजातिलाई आहारा बनाउँछन् र अन्य प्रजातिलाई हानि पनि पुर्याउँछन्।
ओस्कर जातको माछाले भने अन्य प्रजातिलाई आहारा बनाउँछ। अलावा, फ्लावर हर्न सिक्लिड, पाइक सिक्लिड, एरोवाना र बकटुथ टेट्रा बढी आक्रामक मानिन्छन्। यिनीहरू सबै ठाउँ कब्जा गरी एक्लै बस्ने र आहाराका लागि झगडा गर्ने प्रवृत्तिका हुन्छन्। त्यसैले यी माछालाई एक्लै राखेर पालिन्छ। यद्यपि यी माछा पाल्दा मानिसहरूलाई भने विशेष आत्मबल मिल्ने व्यापारीहरूको दाबी छ। नेपाली बजारमा यस प्रकारका माछाको मूल्य २०० देखि ५ हजार रुपैयाँसम्म पर्छ।
डाक्टर फिसः डाक्टर फिस भनिने यो माछा ब्युटी पार्लरमा प्रयोग हुन्छ। यसले आनन्दित बनाउने र सुक्खा छालामा राहत प्रदान गर्ने भएकाले पार्लरमा प्रयोग गरिएको हो। यसका अलावा थेरापी, एक्जिमा, सोरायसिस उपचारको लागि पनि प्रयोग गरेको पाइन्छ। यसले मृत सेल खाएर छाला राम्रो बनाउने भएकाले पछिल्लो समय ‘ब्युटी सप’हरूमा माग बढेको छ। नेपाली बजारमा पाइने यस प्रकारका माछाको आकार सानो हुन्छ र मूल्य १०० देखि ५०० रुपैयाँ पर्छ।
नेपालमा भारत र थाइल्यान्डबाट आयात
नेपाली बजारमा पाइने अधिकांश माछा भारत र थाइल्यान्डबाट आयात हुन्छ। व्यवसायी पौडेलका अनुसार थाइल्यान्डबाट ल्याइने माछा गुणस्तरीय र महँगो हुन्छन्। प्रक्रिया सहज हुने र मूल्य पनि सस्तो हुने भएकाले भारतबाट माछा बढी आयात हुन्छ।
नेपालमा पनि भुरा उत्पादन गरिने भए पनि संस्थागत हुन सकेको छैन। हालसम्म व्यवसायिक रूपमा नभई व्यक्तिगत रूपमा उत्पादन गर्ने गरिएको ब्रिडिङ पोइन्ट नेपालका सञ्चालक रितेश शाक्य बताउँछन्।
घरमा माछा पाल्नु वास्तुअनुरूप उत्तम मानिने भएकाले पनि यो क्रम बढेको टंगालस्थित द रोयल अक्वा पेटका कर्मचारी मनोज डंगोल बताउँछन्। “घरमा माछा पाल्नाले डिप्रेसन र एन्जाइटीबाट छुटकारा पाउन मद्दत गर्छ। अहिले त झन् नयाँ घर वा कोठामा माछा पाल्नाले घरमा राम्रो हुने विश्वासले पनि छ,” उनी भन्छन्।
यद्यपि, पहिलेको तुलनामा व्यापार भने घटेको उनको अनुभव छ। पहिले दैनिक १० देखि १५ जनासम्म ग्राहक आउने गरे पनि पछिल्लो समय औषत पाँच जना ग्राहक आउने उनी बताउँछन्। कोभिड–१९ र आर्थिक मन्दीका कारण बिक्री हुन नसकेको उनको भनाइ छ। माछाहरूले तातो मन पराउने हुँदा जाडोको तुलनामा गर्मीमा धेरै बिक्री हुने व्यापारीहरू बताउँछन्।
नेपालमा पाइने अधिकांश माछा चिसो पानीमा बस्ने प्रजातिका हुन्। नेपालको हिमालयन क्षेत्रको तालतलाउमा बस्ने र चिसो तापक्रम सहन सक्ने खालका माछा मात्र पाल्न सकिन्छ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका लागि जयराम श्रेष्ठले लेखेको लेखमा नेपालमा सात परिवार र १० उपपरिवारबाट ३७ जेनेराअन्तर्र्गत ८१ प्रजातिका चिसो पानीमा बस्ने माछा पाइने उल्लेख छ। माछाको जाति, प्रजाति र समानार्थी शब्दहरूमा भ्रम भएकोले विभिन्न लेखकहरूले माछाको प्रजातिबारे फरक फरक संख्या उल्लेख गरेको श्रेष्ठले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
