बानेश्वरमा भासियो सडक (तस्वीरहरू)

काठमाडौँको नयाँ बानेश्वर चोकबाट शंखमूलतर्फ जाने मुख्य सडक भासिएको छ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँको नयाँ बानेश्वर चोकबाट शंखमूल जाने मुख्य सडक भासिएको छ। सडक भासिएपछि सवारी आवागमन प्रभावित भएको छ। काठमाडौँ महानगरले सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सडक भ्वाङ परेको जनाएको छ। महानगरले एक्स्काभेटर प्रयोग गरी खन्दा भित्री भागमा ठूलो भ्वाङ देखिएको छ। अहिले महानगरले मर्मत थालेको छ।  

काठमाडौँका सडकहरू केही समययता भासिने क्रम बढिरहेको छ। साउन ३० गते ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका–३ मा नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको थियो। ललितपुर प्रहरीका अनुसार सडकको झन्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको थियो।

साउन २४ गते दरबारमार्गबाट कमलादी हुँदै कमलपोखरी जाने सडकमा करिब ५ मिटर गहिरो भ्वाङ परेको थियो। सडक डिभिजन कार्यालय काठमाडौँले टुकुचा खोलामाथि रहेको कल्भर्ट जीर्ण भएर भत्किएपछि भ्वाङ परेको जनाएको छ। 

डेढ महिनाअघि सोह्रखुट्टेमा पनि सडकमा ठूलो भ्वाङ परेको थियो। सोह्रखुट्टे–बालाजु सडकमा सडक भासिँदा मोटरसाइकलसहित दुई जना यात्रु डुबेका थिए। दुर्घटनापछि मोटरसाइकलमा सवार दुई जना सकुशल बाहिर निस्किए पनि डुबेको मोटरसाइकल क्रेनको सहायतामा निकालिएको थियो। 

गत माघमा पनि नयाँ बानेश्वरको सडकमा गुडिरहेको बस एकाएक भासियो। यात्रु बोकेर रत्नपार्कतर्फ जाँदै गरेको बस गुडिरहेकै अवस्थामा सर्भिस लेनतर्फको सडकमा भासिएको थियो। त्यहाँ झन्डै एक मिटर गहिरो खाल्डो बनेको थियो।