शैल्यशिखरका २ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियारले घुससहित पक्राउ परेका शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग चार लाख १२ हजार बराबरको घुस र दुई लाख ५० हजार रुपैयाँ बराबरको दुई वटा चेक (पाँच लाख)सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो। 

आयोगले उनीहरूविरुद्ध नौ लाख एक हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।