रुदीखोलाले सडक बगाएपछि जोखिमपूर्ण यात्रा गर्दै सिङ्दी र पसगाउँबासी

लमजुङ क्व्होलासोथर गाउँपालिका ५ का वडा महिला सदस्य वर्तामाया गुरुङले गाडी गुड्ने सडक तथा पैदल यात्रा गर्ने बाटो नै बाढीपहिरोले अवरुद्ध भएपछि जोखिमपूर्ण यात्रा गर्नुपरेको बताइन्।

लमजुङ– लमजुङ क्व्होलासोथर गाउँपालिका–५ सिङ्दी र वडा नंं ६ पसगाउँ क्षेत्रमा बाढीपहिरोले सडक बगाउँदा तीन हप्तादेखि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ। पोखरा–सिङ्दी–पसगाउँ सडक गत साउन १२ गते रुदीखोलाले बगाउनुका साथै विभिन्न स्थानमा पहिरो झरेर अवरुद्ध भएयता यहाँका स्थानीय पैदल यात्रा गर्न बाध्य छन्।  

गाउँपालिकाले दिएको जानकारीअनुसार उक्त सडकअन्तर्गत कास्कीको मादी गाउँपालिका–८ उगीकुनासहित लमजुङतर्फ विभिन्न स्थानमा खोलाले कटान गर्नुका साथै दर्जन बढी ठाउँमा पहिरो खसेका छन्। 

वडा नंं ५ का वडा महिला सदस्य वर्तामाया गुरुङले गाडी गुड्ने सडक तथा पैदल यात्रा गर्ने बाटो नै बाढीपहिरोले अवरुद्ध भएपछि जोखिमपूर्ण यात्रा गर्नुपरेको बताइन्। “ठाउँ–ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ। रुदीखोला पुलभन्दा २० मिनेट तल पनि सडक बगाएको छ। सहजताका लागि खोलामाथि भर्‍याङ राखेर जोखिमपूर्ण यात्रा गरिरहेका छौँ,” उनले भनिन्। 

पोखरा र रामबजार हुँदै बेँसीसहर जानका लागि पनि यही बाटो प्रयोग हुने गरेकाले छ । जसले यहाँका धेरै नागरिक प्रभावित भएका वडा नं ६ पसगाउँका आइतजङ गुरुङले गुनासो गरे। “पसगाउँसम्म आउने सडक अवरुद्ध हुँदा स्थानीयलाई पैदल हिँडडुल गर्न पनि जोखिम छ। यतिबेला यहाँ सवारीसाधन चल्ने अवस्था छैन, जसले निकट समयमै खाद्यान्न सामग्रीको अभाव हुने अवस्था आउँदै छ”, उनले भने। 

क्व्होलासोथर गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले सो सडकमा ठूलो क्षति पुगेकाले तत्काल सडक सञ्चालन गर्न नसकिएको बताए। सडक खुलाउन पालिकासँग बजेट अभाव भएकाले सम्बन्धित निकायमा पहल भइरहेको उनको भनाइ छ। पूर्वाधार विकास कार्यालय लमजुङका निमित्त प्रमुख विवेक सिग्देलले सडकअन्तर्गत कास्की र लमजुङको दुवैतर्फ ठूलो क्षति भएको र सडक खुलाउने प्रयास गरे पनि पानी नघटेकाले समस्या भएको बताए।