एम्बाप्पेको लालिगा डेब्यु: रियल र मालोर्काबीच १-१ गोलको बराबरी

किलियन एमबाप्पेको यो रियलका तर्फबाट ला लिगामा डेब्यु खेल हो। तर, यसमा उनले गोल गर्न सकेनन्।

डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आइतबार राति भएको स्पेनिस ला लिगाको पहिलो खेलमा मालोर्कासँग १–१ गोलको बराबरी खेलेको छ।

खेलमा अग्रता भने रियलले लिएको थियो। खेलको १३औँ मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले रियललाई अग्रता दिलाए। तर, ५३ औँ मिनेटमा भेडाट मुरिकीले ड्यानी रोड्रिग्वेजको क्रसमा गोल गर्दै खेल बराबरी गरे।

मिडविकमा डेब्यु गरेका स्टार स्ट्राइकर किलियन एमबाप्पेको यो रियलका लागि दोस्रो खेल थियो। ला लिगामा भने यो उनको डेब्यु खेल हो। तर, उनको डेब्यु राम्रो हुन सकेन। युईएफए सुपर कपअन्तर्गत बुधबार राति भएको खेलमा रियलले एटलान्टालाई २–० ले पराजित गर्दा उनले एक गोल गरेका थिए।