बझाङको बुङ्गलमा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु

बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा अविरल वर्षासँगै पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने पुरिएका अन्य छ जनाको जीवितै उद्धार गरिएको छ।

बझाङ– अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन्।

गए राति गएको पहिरोमा घर पुरिँदा चार जनाको मृत्यु भएको उनको भनाइ छ। “चार जनाको मृत्यु भएको र छ जनाको उद्धार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं,” उनले भनिन्।

पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरी टोलीको सक्रियतामा सोमबार बिहान निकालिएको हो। पहिरोमा पुरिएका अन्य छ जनाको जीवितै उद्धार गरिएको छ। वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको हो।