किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरूले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन्।
काठमाडौँ– किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरूले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन्।
खासगरी ओखलढुंगा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरूले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन्। उभौलीपर्वको समापनका रूपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ।
वाम्बुलेहरूको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित ढ्वाङकुमटारमा राँगा काटेर सामूहिक रूपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रूपमा यो पर्व मनाउने चलन छ। शुरूमा एकै ठाउँमा पूजाआजा गर्ने चलन थियो। पछि यो समुदायको जनसंख्या वृद्धि र बसाइँसराइसँगै विभिन्न जिल्लामा मनाउने गरिएको छ। उदयपुरको कटारी, सुनसरीको धरान, ललितपुरको सानो हात्तीवन, सिन्धुलीलगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रूपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाइरहेका छन्।
प्रकृति पूजक वाम्बुलेहरूले पूजास्थलमा नयाँ अन्नबाली चढाउनाका साथै कागुनीको भात, कोदोको जाँड र राँगाको मासु थुन्सेमा लगेर सामूहिक रूपमा पूजा गर्ने गर्छन्। “हुन त यो पर्व कहिलेदेखि मनाउँदै आएको भन्ने थाहा छैन तर मुगल सेन राजाहरूको पालादेखि मनाउँदै आएको किंवदन्ती छ”, मानेभन्ज्याङ गाउँपालिका–३ उँबुका स्थानीय लक्ष्मण राईले भन्नुभयो, “हाम्रो समुदायको प्रमुख चाड नै ढ्वाङकुम हो।”
बुलु, सिसी, ढ्वाङकुर्मो र काउर्मो गरी चार जना नाक्सो (पुजारी)हरूले फलाकेर पूजाथानमा पूजा गरेपछि जाँड र कागुनीको भात प्रसाद बाँडेर खाने चलन छ। राँगा काटेर काँचो र पकाएको मासुले विभिन्न सिकारी देवताहरूको पूजा गरिन्छ। उहिले माले गोरु काटेर पूजा गर्ने प्रचलन भए पनि राणाकालमा मुलुकी ऐन लागू भएदेखि गोरु काट्न छोडिएको थियो।
पूजास्थलमा नयाँ अन्नबालीका रूपमा मकै, काँक्राजस्ता फलफूल चढाउने गरिन्छ। यसरी पूजा गरेपछि वर्षभरि समुदायका सबैको स्वास्थ्य राम्रो हुने, शान्ति, समृद्धि हुने विश्वास यस समुदायले गर्छन्। पूजाको अघिल्लो दिनदेखि पूजा हुने दिनसम्म दुई दिन बस्तीहरूमा खनजोत गर्न रोक लगाउने गरिन्छ। खेतीपातीको काम गर्न नपाइने हुँदा प्रायः सबै घरधुरीका सदस्यहरू एकै ठाउँ जम्मा भएर संगिना नाच्ने, गीत गाउने र प्रसाद खाने गर्छन्।
यो चाडमा अन्नबाली कागुनो र मकै पाकिसकेपछि सामूहिक रूपमा प्रकृति, भूमि र सिमलाई आभार प्रकट गरिन्छ। लिब्जुलाई चढाउने सबैभन्दा उत्कृष्ट अन्न जा (कागुनो) मानिन्छ। पहिलेपहिले कागुनो मकैभित्र पातलोसँग छर्ने चलन थियो। यो अन्न सबैभन्दा पहिला पाक्ने अन्न हो।
भूमि पिता अर्थात् लिब्जुलाई वैशाख पूर्णिमामै भाका मागेर कागुनो पाक्ने बित्तिकै जनै पूर्णिमाको दिन लिब्जुलाई पूज्दै ढ्वाङकुम मनाइने मानेभन्ज्याङ गाउँपालिका–३ ओखलढुंगाकै विकास सौगात राईले बताए।
“तपाईंलाई वैशाख पूर्णिमामा मनाउनुपर्नेमा सकेनौँ। च्यामाखा (धर्तीमाता) तपाईं नरिसाउनूहोस्। हामीलाई कुनै पनि नराम्रो नहोस्। अशुभ नहोस्। बालीनाली राम्रो होस्। हाम्रो दैनिक जीवनमा नराम्रो नगर्नूहोस्। हामी तपाईंलाई ससम्मान ढ्वाङ्कुम (जनै पूर्णिमा)मा मान्छौँ,” राईले भने, “यसरी फलाकेर आज हामी लिब्जुको पूजा गर्दै रमाउछौँ। यो नै ढ्वाङकुम पर्व हो।”
विसं २०७८ को जनगणनाको तथ्यांक वाम्बुले भाषीको संख्या १५ हजार २६८ देखिए पनि मुलुकभर ५० हजार वाम्बुले भाषी रहेको वाम्बुले राई समाजको दाबी छ। “जनगणनाकै बेला पनि भाषाको महलमा वाम्बुले लेख्नुपर्ने ठाउँमा केन्द्रीय तथ्यांक विभागले याम्बुले लेखिदिएर गलत गर्यो,” वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईले भने, “त्यसैले हाम्रो संख्या वास्तविक आउन सकेन।”
अध्यक्ष राईले ढ्वाङ्कुम यस समुदायको सबैभन्दा ठूलो सांस्कृतिक चाड रहेको उल्लेख गरे। वाम्बुले राई समुदायले वैशाख पूर्णिमादेखि जनैपूर्णिमासम्म उभौलीका रूपमा लिन्छन् भने मंसिर पूर्णिमादेखि उधौली मनाउने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
