बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १९० पुग्यो, ४९ जना बेपत्ता

देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो लगायतका विपद्मा परी पछिल्लो २४ घण्टाको अवधिमा थप आठ जनाले ज्यान गुमाएका छन्।

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो लगायतका विपद्मा  परी थप आठ जनाले ज्यान गुमाएका छन्। यससँगै मनसुन शुरू भएयता विपद्मा परी मृत्यु हुनेको संख्या १९० पुगेको छ। 

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार जेठ २८ गतेदेखि सोमबार दिउँसोसम्म बाढी, पहिरो लगायतका विपद्मा परी १९० जनाको मृत्यु भएको हो।

उनका अनुसार काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी २३८ जना घाइते भएका छन्।

काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी ११४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। 

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४९ जना बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको  प्रहरी प्रवक्ता कार्कीले बताए। 

बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन्। ३२७ वटा घर, ११२ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८५२ वटा पशुचौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ८१९ घरपरिवार विस्थापित भएका छन् ।