साफ यू२० च्याम्पियनसिपमा भुटानमाथि भारतको जित

साफ यू२० च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को खेलमा भारतले भुटानलाई पराजित गरेको छ।

काठमाडौँ– साफ यू२० च्याम्पियनसिपमा भारतले विजयी शुरूआत गरेको छ। सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित हात पारेको हो।

खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक साबित भएको हो। उनले कर्नर बलमा हेडमार्फत गोल गरेका थिए।

गोल गरेपछि उनले भारतको कोलकात्तामा चिकित्सकको बलात्कारपछि हत्या भएको घटनाको ‘पीडितलाई न्याय’ लेखिएको टिसर्ट देखाएका थिए। खेलमा भुटानले इन्जुरी समयको अन्तिम मिनेटमा बराबरी गर्ने अवसर गुमाएको थियो।

भुटानका कप्तान पेमाको प्रहार पोलमा लागेको थियो। प्रतियोगितामा मंगलबार समूह ‘ए’को खेलमा श्रीलंका र बांग्लादेशबीच प्रतिस्पर्धा हुने छ।