बाढीले जलविद्युत् परियोजनामा क्षति पुर्‍याउँदा पर्यटकीय क्षेत्र नाम्चे र थामे बिजुलीविहीन

बाढीले थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्‍याउँदा नाम्चे र थामेका झन्डै एक हजार घरपरिवार प्रभावित भएका छन्। 

सोलुखुम्बु– बाढीले थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्‍याउँदा झन्डै एक हजार घरपरिवार प्रभावित भएका छन्। 

गत शुक्रबार खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा आएको बाढीले गाउँसहित ९३० किलोवाट क्षमताको उक्त परियोजनाको बाँधमा क्षति पुर्‍याएको थियो। जसका कारण वडा नं ४ खुम्जुङ, खुन्दे तथा वडा नं ५ नाम्चे र थामेका गरी ९६० घरभन्दा बढी घरपरिवार प्रभावित भएको खुम्बु बिजुली कम्पनीका प्रबन्धक सोनाम दोर्जी शेर्पाले जानकारी दिए। 

गाउँपालिका वडा नं ५ का अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बाढीका कारण जलविद्युत् परियोजनामा क्षति पुगेको उल्लेख गर्दै सञ्चालनमा ल्याउनका लागि महिना दिनभन्दा बढी समय लाग्न सक्ने बताए। “बाढीका कारण परियोजनाको बाँधमा ठूलो क्षति पुगेको छ, मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने जानकारी दिइएको छ”, उनले भने। 

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बिजुली नहुँदा सञ्चारलगायतका सेवा अवरुद्ध भएको बताए। “बाढीले विद्युत् आयोजनामा क्षति पुर्‍याएपछि समस्या भएको छ, बत्ती नहुँदा मोबाइल नेटवर्कसमेत प्रभावित हुँदा सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ। बाढीका कारण खुम्बुमा ठूलो क्षति पुगेको छ,” उनले भने। 

विद्युत् परियोजना मर्मतका लागि आइतबारदेखि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली खटिसकेको इलाका प्रहरी कार्यालय लुक्लाका इन्चार्ज प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालले जानकारी दिए। “नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली मर्मतमा खटिएका छन्। क्षति ठूलो भएकाले तत्काल आयोजना सञ्चालन हुने सम्भावना न्यून भएको जानकारी प्राप्त भएको छ,” उनले भने। 

विद्युत्गृहमा क्षति नभए पनि बाँध पूर्ण रूपमा क्षतिग्रस्त भएको नाम्चेका स्थानीय समेत रहेका राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले बताए। 

बाढी र पहिरोमा बगेर आएर ठूला ढुंगा बाँधमा थुप्रिएका छन्। ढुङ्गा हटाउनका लागि एक्स्काभेटर मेसिन आवश्यक पर्ने उल्लेख गर्दै खुम्बु बिजुली कम्पनीले आयोजना पुनः सञ्चालनका लागि केही समय लाग्न सक्ने जनाएको छ। हाल लुक्लाभन्दा तलको गाउँ थामडाँडासम्म मात्रै सडकको पहुँच रहेकाले सो स्थानसम्म एक्स्काभेटर लैजान सहज नभएको कम्पनीको भनाइ छ। 

“बत्ती नहुँदा खुम्बु क्षेत्र अन्धकारमा छ, बाढीले क्षतिग्रस्त विद्युत् आयोजना कसरी सञ्चालन गराउने भन्नेबारेमा छलफलमा छौँ”, राष्ट्रियसभा सदस्य शेर्पाले भने। उनले आफूहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले पनि समस्या समाधानका लागि चासो देखाएको बताए।

उनले उक्त स्थानमा एक्स्काभेटर मेसिन कसरी लैजाने विषयमा छलफल भइरहेको जानकारी दिए। “मेसिन जतिसक्दो छिटो पुर्‍याउन सकियो त्यति नै चाँडो परियोजना पुनः सञ्चालनमा ल्याउन सकिन्छ, मानवीय जनशक्तिको मात्रै भर पर्ने हो भने एक वर्षभन्दा बढी समय लाग्ने देखिएको छ”, उनले भने।  

उक्त विद्युत् आयोजना सन् १९९३ मा स्थानीयको लगानी र अस्ट्रिया सरकारको सहयोगमा निर्माण भएको हो‍। सगरमाथा क्षेत्रमा पर्ने सो आयोजनाको क्षमता विस्तार गर्नका लागि भारत सरकारले सन् २०१३ मा चार करोड ४६ लाख रुपैयाँ सहयोग गरेको थियो।

उक्त रकमबाट आयोजनाको पेनस्टक पाइप निर्माण गरिएको थियो। ६३० किलोवाट क्षमताको आयोजना भारत सरकारको सहयोगपछि स्तरोन्नति गरी ९३० किलोवाट क्षमताको बनाइएको थियो। 

उक्त क्षेत्रमा सोमबारदेखि नेपाल टेलिकमको मोबाइल सेवा आंशिक रूपमा सञ्चालनमा आएको जनाइएको छ। यद्यपि नाम्चेभन्दा माथिको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। 

गत शुक्रबार दिउँसो थामेको शिरमा रहेका दुई वटा हिमताल फुट्दा थामे खोलामा आएको बाढीले खुम्बुसहित तल्लो सोलुका नदी आसपासका क्षेत्रमा क्षति पुर्‍याएको थियो। बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। 

बाढीले खुम्बु पासाङल्हामु-३ फाक्दिङदेखि नाम्चेतर्फको क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको थियो। बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य-खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको थियो। जसका कारण सल्लेरीबाट खुम्बुसम्मको आवतजावत अवरुद्ध भएको छ।