गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको निधन

सोमबार सुर्खेतबाट नेपालगन्ज जाने क्रममा दुर्घटनामा परेका उपाध्यक्ष चन्द्रसिंह कार्कीको नेपालगन्जमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो।

काठमाडौँ– हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ।

सोमबार सुर्खेतबाट नेपालगन्ज जाने क्रममा दुर्घटनामा परेका उनको नेपालगन्जमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाले जानकारी दिइन्। 

सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।  

“पालिकाको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि केही समयअघि उहाँ सुर्खेत झर्नुभएको थियो। हिजो दुर्घटनामा पर्नुभएछ। बिहानको राति तीन बजे उपचारका क्रममा मृत्यु भएको खबर आयो,” उनले भनिन्। 

कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए। उनकी श्रीमती जुम्कीत लामा कर्णाली प्रदेशसभा सदस्य छिन्।