काँक्रोखेतीबाट आम्दानी गर्दै इलामका किसान

सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन्। यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउलीलगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन्।

इलाम– सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस सिजन पाँच रोपनी जग्गामा काँक्रोखेती गरेका थिए। उनलाई काँक्रो बजार पठाउन भ्याइनभ्याइ छ। गाउँमा उत्पादन भएको काँक्रो झापाको चारआली, बिर्तामोड लगेर बेच्ने गरेका छन्।

“सिजन सकिनै लाग्यो। अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए,” उनले भने, “झापाको चारआली र बिर्तामोड पुर्‍याउँदा कम्तीमा प्रतिगोटा  ३० देखि ९० रुपैयाँसम्ममा बिक्री हुन्छ।” वरपर अरू किसानबाट जम्मा गरेर पनि बिक्री गर्ने गरेको उनले सुनाए। 

काँक्रो लगाउँदा एक लाख ५० हजार रुपैयाँ खर्च भएको थियो। “सात लाख हाराहारी आम्दानी भयो होला,” उनले भने, “हाम्रो गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए। प्रायः सबैजसो किसानले कम्तीमा ४००–५०० काँक्रो बिक्री गरेका छन्।”

सूर्योदय–१२ कै योगेन्द्र राई र सञ्जय राईले पनि काँक्रोखेती गरेका छन्। “शुरूमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो तर पनि दुई हजार जति काँक्रो फल्यो होला,” उनले भने। अहिले सूर्योदयका वडावडामै कच्ची भए पनि बाह्रै महिना सवारीका साधन सञ्चालन हुनसक्ने सडक भएकाले किसानलाई तरकारी बिक्री गर्न धेरै सजिलो छ। उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता हटेको योगेन्द्रको भनाइ छ। 

गोलभेँडा, इस्कुस, अकबरे, काँक्रो, बन्दालगायत कृषि उत्पादन बारीमै कुहिने गरेको थियो । सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन्। मलिममा अहिले गोलभेँडा राम्रो रहेको र आफैँले ढुवानी सेवा दिँदै आएको अर्का किसान राम राईले बताए। 

“मलिम पुछार, बिरिङखोला नजिकसम्मै गाडी जान्छ, असारेटार, लेप्चा गाउँदेखिका गोलभेँडा र अन्य तरकारी उठाउने गरेको छु,” उनले भने, “यस वर्ष त कसैको तरकारी कुहिएन, सबै किसानले फलाएको तरकारी राम्ररी बिक्री गर्न पाएका छन्। हामीले यो तरकारी झापा पुर्‍याएर बिक्री गरेर आएर, पैसा दिने गरेका छौँ।” 

यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पालगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन्।