पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु, ३ हजारभन्दा बढी प्रभावित

वर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ।

पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले जनाएको छ। 

डन न्युजका अनुसार मनसुनी वर्षाले मानवीय तथा भौतिक क्षति पुर्‍याउँदा अन्य ११ जना  घाइते भएका छन्। तीन हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन्।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार जुलाई–१ देखि अगस्ट–१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन्। यसैगरी, विपद्का कारण दुई हजार २९३ घर क्षतिग्रस्त भएका छन्।

पीडीएमएका अधिकारी युनस मेंगलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्ला प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताएका छन्। बलुचिस्तानले जुलाई–१ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाको सामना गरेको डन न्यूजले जनाएको छ।

वर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ।

सबैभन्दा बढी वर्षा कलातमा त्यसपछि उस्ता मुहम्मद र सबीबीमा रेकर्ड भएको छ। सोहबतपुरकी बलुच उपायुक्त फरिदा तरीनले जुडाइर नदीमा जल सतह बढेको बताउँदै ‍यस क्षेत्रमा आएको बाढीले धान खेतमा क्षति पुगेको जानकारी दिए। 

बलुचिस्तानको राष्ट्रिय राजमार्ग प्राधिकरणका महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्ग खुला रहेको तथा अधिकारी र ठेकेदारले बाढीको क्षति मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताए।