‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ फल्चाको पुनर्निर्माण

काठमाडौँ महानगरपालिका–८ स्थित नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चाको पुनर्निर्माण गरिएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिका–८ का दुई वटा फल्चाको पुनर्निर्माण सकिएको छ। नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चाको पुनर्निर्माण सकिएको हो। 

यी फल्चामध्ये ‘ग्वलः दे फल्चा’ विसं. १९९० सालको भूकम्पपछि हराएको थियो। सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा अध्यक्ष आशामान संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गरिएको हो।

शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनर्निर्माण ८७३ मा भएको उल्लेख छ। यसअनुसार फल्चा करिब ३२४ पुरानो हो। स्थानीय पाका मानिसहरूका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो। पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो। त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिने उनी बताउँछन्।

फल्चा पुनरुत्थानका लागि वडाले करिब १४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ। १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ। २५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९औँ शताब्दीमा बनाइएको अभिलेख छ। ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यसको नाम नरसिंह रहेको हो। यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ। संयोजक संगतका अनुसार रावण पाटी पुनर्निर्माणको काम पनि शुरू भइसकेको छ।