यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा (तस्वीरहरू)

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रामा गौरव यात्रा आयोजना गरेका छन्।

काठमाडौँ– नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाएका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हीरा समाजले आयोजना गरेको २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रामा देशभरबाट भेला भएका समुदायका व्यक्तिहरूले कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडिबाट गौरव यात्रा शुरू गरेका थिए।

गौरव यात्रामा सहभागी भएका महिला तथा बालबालिकामन्त्री नवलकिशोर सुडीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारको सवालमा आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले लैंगिक अल्पसंख्यक समुदायको सम्पूर्णको अधिकारको लडाइँमा सरकारको समर्थन गरेको विश्वास दिलाए।

“यो समुदायको जुन अधिकार छ त्यो त्यसका लागि मैले जे जति सहयोग गर्नुपर्छ त्यसका लागि सरकारको तर्फबाट पूरा गर्ने आश्वासन दिन चाहन्छु। अधिकारको लडाइँमा सरकार साथमा छ,” उनले भने।

त्यस्तै नील हिरा समाज अध्यक्ष पिंकी गुरुङले आफ्नो समुदायको व्यक्तिहरू दिवङ्गत हुँदासम्म उनीहरूको परिवारहरूले नहेर्ने अवस्था रहेको भन्दै नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवंगत हुँदा श्रद्धासुमन स्वरूप घरबाट गाईजात्रा निकाले जस्तै आफ्नो समुदायको दिवंगतहरूको श्रद्धा सुमनको लागि गाईजात्रा मनाउन शुरू गरेको जानकारी दिइन् ।

“समुदायको साथीहरू धेरै दिवंगत हुनुभयो। तर उहाँहरूको आफ्नै परिवारले पनि दाहसंस्कार गर्न मान्नुभएन। त्यसैले नेपालमा नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवंगत हुँदा श्रद्धासुमन स्वरूप घरबाट गाईजात्रा निकाल्नुहुन्छ त्यसरी समुदायका साथीहरू धेरै दिवंगत भएपछि समुदायले नसम्झिएपछि संस्थाले सम्झनुपर्छ भनेर गाईजात्रा मनाउन थालेका हौँ,” उनको भनाइ छ।

गौरव यात्रा वसन्तपुर डबलीमा दिवंगत व्यक्ति र नायकहरूको जीवनको सम्झनामा मैनबत्ती बालेर समापन भएको छ। गाईजात्रामा मौलिक पोसाक, संस्कृति, बाजागाजासहित उनीहरू उपस्थित भएका थिए।