दानपेटीमा मन्दिरको सट्टा आफ्नो बैंक खाताको क्यूआर राखेर लाखौँको चोरी

कानून विषयमा स्नातक गरेका एक चिनियाँ युवकले बौद्ध मन्दिरबाट दानरकम चोर्ने अनौठो तरिका अपनाएका छन्।

कानून विषयमा स्नातक गरेका एक युवकले बौद्ध मन्दिरबाट चन्दा चोर्ने अनौठो तरिका अपनाएका छन्। लाखौँ रुपैयाँसम्म चोरी गरेपछि अन्तिममा उनी प्रहरीको फन्दामा परे। यो घटना चीनको शान्सी प्रान्तको हो।

रिपोर्टका अनुसार, ती व्यक्तिले मन्दिरको दानपेटीकामा टाँसेको क्यूआर कोडलाई आफ्नो बैंकखाताको क्यूआर कोडले प्रतिस्थापन गरेर लाखौँ चोरी गरेका छन्। कुनै भक्तले भक्तिपूर्वक गरेको दान मन्दिरको खातामा नगई सिधै ती व्यक्तिको खातामा जान्थ्यो। यसरी उनी रातारात लखपति बने।

अचम्मको कुरा के छ भने ती व्यक्तिले चीनको प्रतिष्ठित विश्वविद्यालयबाट कानूनमा स्नातकसम्मको अध्ययनसमेत गरेका छन्। साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार यो सम्पूर्ण कार्यको भिडियो फुटेज सार्वजनिक भएको छ।  शान्सी प्रहरीले जारी गरेको भिडियोमा देखाइएअनुसार जब कोही भक्त मन्दिरअगाडि झक्छन् तब ती व्यक्तिले दानपेटिकाको क्यूआर कोडलाई आफ्नै क्यूआरकोडले बदल्छन्। त्यसपछि भक्तले मोबाइलमा क्यूआर कोड स्क्यान गर्दा दानरकम सिधै ती चोरको खातामा जान्छ। प्रहरीले चोरको नाम भने खुलाएका छैनन्। 

उनले यो वर्ष उत्तरपश्चिम शान्सी प्रान्तका साथै दक्षिणपश्चिम सिचुआन र चोङकिङ प्रान्तका बौद्ध मन्दिरमा पनि यसै गरी चोरी गरेको प्रहरीले जनाएको छ। यसरी उनले अहिलेसम्म ४ हजार २०० अमेरिकी डलर (साढे पाँच लाख रुपैयाँ) चोरेको प्रहरीसमक्ष स्वीकारेका छन्।

प्रहरीले जनाएअनुसार ती व्यक्तिले अहिलेसम्म चोरेको सबै पैसा फिर्ता गरिसकेका छन्। तर यो घटना चीनमा गम्भीर चर्चाको विषय बनेको छ।