पहिरोका कारण राष्ट्रिय राजमार्गका ७ वटा खण्ड अवरुद्ध

पहिरोका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र २४४ सडक खण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।

भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरा मोडमा पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएको सडक। तस्वीरः हेमन्त केसी/रासस

काठमाडौँ– राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या भएको छ। सडक विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकभर पहिरोका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन्। २४४ सडक खण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा छन्। 

मदन भण्डारी राजमार्गको प्युठानस्थित एनएच जिरो नाइन सडकखण्ड, प्युठानस्थित गर्जेनीमा भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट खण्ड पूर्ण रूपमा अवरुद्ध छ। 

त्यस्तै, मोरङको चतरा–मुलघाट–माझीटार–अमापु डाँडा– गणेशचोक राजमार्गस्थित चतरा पुलदेखि बराहक्षेत्र जाने सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध हुँदा सवारीसाधन आवतजावतमा समस्या परेको छ । 

यसैगरी सुर्खेत तल्लो ढुंगेश्वर–सातखब्बा–दुल्लु–पिपलकोट–खुलालु–मन्मा–नग्मा–जुम्ला राजमार्गको कालीकोटस्थित गाल्जे खण्ड पनि पूर्ण रूपमा नै अवरुद्ध भएको छ। 

पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथरस्थित यलम्बर सडकखण्ड पूर्ण अवरुद्ध भएको छ। यसैगरी तानसेन–रिडी–कोरला राजमार्गको गुल्मीस्थित अच्चेश्वर गुफा नजिकको सडकखण्ड र राप्ती राजमार्गको सल्यानस्थित चोरखोला सडकखण्ड समेत पूर्ण रूपमा अवरुद्ध भएको सडक विभागको तथ्यांक रहेको छ। 

भूगर्भविद् डा. सुवोध ढकालले वर्षाका कारण माटो गलिसकेकाले हल्का वर्षा हुँदासमेत पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनुपर्नेमा जोड दिए। “अविरल वर्षाका कारण माटो गलाएको छ। अहिले त थोरै पानी पर्नासाथ पहिरो जान थालेको छ,” उनले भने, “त्यसैले अत्यावश्यक काममा मात्रै हिँडडुल अनुरोध छ।”