बांग्लादेशसँग श्रीलंका पराजित, नेपाल १ खेलअगावै सेमिफाइनलमा

यु२० साफ च्याम्पियनसिपमा बांग्लादेशले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।

काठमाडौँ– जारी यु२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा समूह ‘ए’मा रहेको बांग्लादेशले सोही समूहमा रहेको श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो।

यसअघि नेपालले उद्घाटन खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट शीर्ष तीन अंक जोडेको थियो। पछिल्लो हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

बांग्लादेशको जितमा मिराजुल इस्लाम र पीएस अहमद नोभाले समान १–१ गोल गरे। खेलको १८औँ मिनेटमा इस्लामको गोलमार्फत बांग्लादेशले अग्रता लिएको थियो। त्यसपछि खेलको अन्त्यतिर नोभाले गोल गर्दै बांग्लादेशको जित पक्का गरे।

समूह ‘ए’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बांग्लादेशबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल यही भदौ ६ गते हुनेछ। यस्तै, प्रतियोगिताअन्तर्गत बुधबार माल्दिम्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ।