कोशी आसपासका नदीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ।
मोरङ– कोशीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ। कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ।
क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण संघ (आईयूसीएन)ले पृथ्वीबाटै संकटापन्नको सूचीमा राखेको छ। जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ।
अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो। अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गरे।
पाँच जना नेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरू वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगस्टमा सोसम्बन्धी लेख प्रकाशित छ।
अनुसन्धानकर्ता जसहाङ लिम्बू भने, “माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना संकलन गरेका थियौँ। सोही क्रममा उक्त माछा कोशी ब्यारेज क्षेत्रमा बिस्तारै बगिरहेको पानीमा भेटिएको थियो। यसको बाहिरी तथा आणविक बनावटका साथै वंशवृक्षको अध्ययनबाट यो नेपालको लागि नयाँ र विश्वबाटै लोप हुन लागेको प्रजाति रहेछ पाइएको छ।”
उनीहरूले अध्ययनका लागि तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट सात सय वटा नमूना संकलन गरिएको जानकारी दिए। उक्त नमूनामध्ये एउटा संकटापन्न प्रजातिको माछा भेटिएको हो।
अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताए।
नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम इरेथिस्टेस सिकुला हो। यो पनि कोशी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो। यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उनले बताए।
उक्त सिकुला माछालाई पनि आईयूसीएनले ‘तथ्यांक अभाव’ भएको सूचीमा राखेको छ। यी दुवै माछा कोशी नदीमा प्रशस्त पाइने र स्थानीय व्यवसायीले दोहन गरिरहेको अवस्था रहेको उनले बताए।
अनुसन्धानकर्ता लिम्बूले भने, “यस्तो दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेको पाइयो। यी दुवै माछा खानका लागि लोकप्रिय मानिन्छन्।”
अनुसन्धानकर्ता अधिकारीका अनुसार लोपोन्मुख प्रजाति नेपालमा प्रशस्त संख्यामा पाइनु खुशीको कुरा भएको बताए। उनका अनुसार एमब्लिसेप्स जातिका तीन प्रजाति मङ्गोइज, अरुणाचलेन्स् र वाइखोमी नेपालमा पाइने पुष्टि भएको छ। अरुणाचलेन्सलाई पहिला मङगोइज हो भनेर विश्वास गरिएको थियो।
एक दशकअघि नेपालमा पाइने भनेर लेखिएका प्रजातिको पहिचानमा त्रुटि भेटिएकाले अहिले डिएनए बारकोडिङबाट यथार्थता पहिचान गर्ने प्रयास गरिएको लिम्बूको भनाइ छ।
तथ्यांकअनुसार नेपालमा पाइने माछामध्ये यस अघिसम्म तीन वटा प्रजाति अति संकटापन्न र शहर माछा संकटापन्नको सूचीमा थियो। अब एम्ब्लिसेप्स अरुणाचलेन्स् पनि संकटापन्नको सूचीमा थपिएको हो।खोजकर्ताको उक्त टोलीले दुई वर्षमा माछाका यी दुईसहित ६ वटा प्रजाति नयाँ प्रजाति पत्ता लगाइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
