यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बाग्मती, गण्डकी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी, राति कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कर्णाली, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षासमेत हुने महाशाखाले जनाएको छ।