बागमतीले पार गर्‍यो सतर्कता तह: तटीय क्षेत्रमा जोखिम

जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती करिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

काठमाडौँ– निरन्तरको वर्षाले बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती करिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, कास्की, पर्वत, बागलुङ, म्यादी, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपास भएर बहने अधिकांश नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ।

साथै संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भई बहने केही स–साना नदीमा बहाव बढ्ने पूर्वानुमान छ।

यस्तै कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ। महाकाली नदी पारीगाँउमा जलसतह सतर्कता तह नजिक रहेको महाशाखाले जनाएको छ।