सेयर बजारमा सोमबार १ अर्ब ६७ करोडको कारोबार

सोमबार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ५.१९ अंक, फ्लोट इन्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंक घटेको छ। 

काठमाडौँ– निरन्तर रूपमा उतारचढाव भइरहेको नेप्से परिसूचकमा साताको दोस्रो कारोबारका दिन सोमबार पनि उच्च अंकले गिरावट आएको छ। सोमबार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.१९ अंक, फ्लोट इन्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंक घटेको छ। 

सोमबार कारोबारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता सेयर १ अर्ब ६७ करोड ४ लाख रुपैयाँबराबरको खरिदबिक्री भएको छ। आइतबार १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक २.२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३.१२ प्रतिशत बढेको छ। त्यस्तै, अजोड इन्स्योरेन्सको सेयरमूल्य ७.३७ प्रतिशत घटेको छ। त्यसैगरी, ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा रिडी पावरको ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।