नागढुंगा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोले सडक पुरेपछि काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन्।

फाइल तस्वीर।

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । 

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो।

पहिरोले सडक पुरेपछि काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन्। अहिले पनि सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको अधिकारीले जानकारी दिए। 

प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुंगामै रोकेको छ भने आउने सवारीसाधन पिप्लामोडभन्दा तल  रोकेको छ।