नेपाल संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन अनुसन्धान ब्युरोको छापा

नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा छापा मारेको ब्युरोको भनाइ छ।

काठमाडौँ– नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौँको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा बुधबार छापा मारेको छ।

आज दिउँसो ब्युरोको टोलीले संघको कार्यालयमा छापा मारी केही कागजात तथा कम्प्युटरको ‘हार्डडिक्स’ बरामद गरेको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

उनले भने, “तीन दिनदेखि संघको कार्यालय बन्द थियो, आज खुलेपछि हाम्रो टोलीले त्यहाँबाट माइनुटबुक, लेटरप्याड र कम्प्युटरको हाडडिक्स बरामद गरी ल्याएका छौँ।” नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्युरोले छापा मारेको प्रवक्ता मिश्रले बताए।

“नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचना पाएका छौँ,” उनले भने, “सोही विषयमा छानबिन गर्न आज छापा मारेर संघका पदाधिकारीको रोहबरमा कागजपत्र नियन्त्रणमा लिएका छौँ।”